धुन्चे, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ नागुङमा रहेको झन्डै पाँच सय वर्ष पुरानो थानादेवी मन्दिरको अलौकिक शक्ति र त्यसको महिमा बेग्लै रहेको छ । उक्त मन्दिर कुनै इँटा, ढुङ्गाको नभई एउटा रूखको फेदमा रहेको छ । झ्याम्म रूखको पातले छाता जसरी छोपिएको छ । उक्त मन्दिरमा कसैले फोहोर गर्दैनन् । गाईवस्तु, कुखुरा, बालबालिकालगायत गाउँले जाँदैनन् । ५० घरधुरी रहेको नागुङका गाउँलेले यस मन्दिरलाई गाउँकै शक्तिको रूपमा मानेका छन् ।
नागुङ गाउँका झाँक्री एवम् थानादेवी मन्दिरका पुजारी छोवाङ शेर्पाका अनुसार यस ठाउँमा पाँच पुस्ताले पूजा गर्दै आएको छ । आफैँ उत्पत्ति भएकी देवी भएका कारण गाउँलेले रोगव्याधि, अनिष्ट नलगोस्, भूतप्रेतले दुःख नदिओस् भनेर देवीलाई खुसी बनाएर राखेका छन् । मन्दिरमा गाईको दूध, सिक्का पैसा, अक्षेता, धुपी चढाउने गरिन्छ । मन्दिरमा रातो पहिरनमा नौलो मानिस जान हँुदैन भन्ने किंबदन्ती रहेको छ । थानादेवीनजिक गणेशको थान रहेको छ । बोकेझुन्डामा रहेको छङ्गमदेवी र ठाँडेमा रहेको सिङ्गे भूमिथानजस्तै यो ठाउँ पनि अलौकिक शक्ति भएको स्थान हो । यहाँ वर्षको दुईपटक वैशाख पूर्णिमा र कार्तिक पूर्णिमाको बेला सानोतिनो मेला नै लाग्ने गर्छ । उक्त समयमा स्थानीयले पूजापाठ गरेर देवीलाई मनाउँछन् । स्थानीय ग्यालदोर्जे तामाङले भने, ‘अहिलेको पुस्ता देवीको शक्तिलाई पत्याउँदैन, तर आफ्नो पुर्खादेखिको एक अलौकिक शक्तिले गर्दा हामी मानिस भएर बाँचेका छौँ, यसको महिमा शक्ति नागुङका गाउँलेबाहेक अन्यलाई थाहा छैन ।’
‘म सानो छँदा पत्यार लाग्दैन थियो, आफूले बुझ्दै जाँदा थाहा भयो थानादेवीको शक्ति,’ निमादावा तामाङले बताए । सदरमुकाम धुन्चेबाट पैदल डेढ घन्टा र गाडीमा २५ मिनेटमा पुगिने नागुङ गाउँ तरकारी खेती, माछापालन र होमस्टेका लागि उत्कृष्ट गन्तव्य पनि हो ।
प्रतिक्रिया