ध्रुव श्रेष्ठ चारपटक विजयी

  • त्रिशूली प्रवाह
  • १२ जेष्ठ २०७९, बिहीबार ११:३४

विदुर, वैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । नुवाकोट जिल्लाको लिखु गाउँपालिकाको अध्यक्षमा यसपटक निर्वाचित ध्रुव श्रेष्ठ ०४९, ०५४ र ०७४ मा पनि विजयी भएका थिए । श्रेष्ठ योसहित दुईपटक गाविसको र दुईपटक पालिकाको प्रमुखमा विजयी भएका छन् ।

०४६ सालपछिको पहिलो स्थानीय निर्वाचन ०४९ मा तत्कालीन चौघडा गाविसको अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित श्रेष्ठ त्यसपछि नेपाली काङ्ग्रेसमा प्रवेश गरे । उनी दोस्रो स्थानीय निर्वाचनमा चौघडा गाविसबाटै अध्यक्ष पदमा नेपाली काङ्ग्रेसबाट विजय भएका थिए । ०६२÷०६३ को जनआन्दोलनपछि सङ्घीय संरचनाअनुसार साबिकको चौघडा, सूर्यमती, खानीगाउँ गाविसका सबै वडा, थानसिङको ६ वटा वडा र थानापति गाविसको एउटा गाभेर लिखु गाउँपालिका बन्यो । सङ्घीयता कार्यान्वयनसँगै भएको ०७४ को स्थानीय तह निर्वाचनमा पनि ध्रुव श्रेष्ठ नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका थिए । उनी ०७४ मा पनि अध्यक्षमा निर्वाचित भए । ०७९ मा पनि नेपाली काङ्ग्रेसबाट अध्यक्षमा उम्मेदवार बनेर पुनः विजयी भएर चौथो कार्यकाल सुरु गरिसकेका छन् । नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापतिको तेस्रो कार्यकालको जिम्मेवारी सम्हालिरहेका श्रेष्ठ यसपटकको स्थानीय तहको निर्वाचनमा चार हजार ६७ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मेघनारायण श्रेष्ठलाई एक हजार चार सय ५१ मतको अन्तरमा पराजित गरेका छन् ।