१७ जना उम्मेदवारको मत शून्य एक, दुई र तीनभन्दा बढी मत ल्याउनेको सङ्ख्या तीन दर्जन

  • त्रिशूली प्रवाह
  • १२ जेष्ठ २०७९, बिहीबार १२:११
  • रामहरि न्यौपाने

विदुर, स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शून्य मतदेखि दोहोरो अङ्कसमेत कटाउन सकेनन् । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटमा ६ सय ६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एकजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । त्यसका लागि नुवाकोटका दुई लाख ३७ हजार चार सय ३४ मतदातामध्ये प्रारम्भिक तथ्याङ्कअनुसार ७० प्रतिशत मतदाताले मतदानमा सहभागिता जनाएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए । उनको अनुसार चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये १७ जना उम्मेदवारको एक मत पनि आएन । उम्मेदवार स्वयम्ले पनि आफूलाई मत दिएनन् । १२ जनाको एक/एक मत र १३ जनाले दुई/दुई मत मात्रै ल्याएका छन् ।

तथ्याङ्कअनुसार नुवाकोटका करिब सयजना उम्मेदवारले दोहोरो अङ्कको मत ल्याउन सकेको पाइन्न । जिल्लाको मतपरिणामको नतिजाअनुसार प्रतिशतको आधारमा सबैभन्दा फरक अङ्कको प्रतिस्पर्धा किस्पाङ गाउँपालिका-१ को दलित महिला सदस्य पदमा देखियो । माओवादी केन्द्रका दलित महिला सदस्य पदका उम्मेदवार धनमाया विश्वकर्मा सात सय ३७ मत ल्याएर निर्वाचित हुँदा उहाँकी प्रतिस्पर्धी जन समाजवादी पार्टीकी उम्मेदवार पम्फा विश्वकर्माले एक मत मात्रै ल्याइन् मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नुवाकोटमा उम्मेदवारी दिएकामध्ये १७ जना उम्मेदवारले एक मत पनि ल्याउन सकेनन् । एकमत पनि ल्याउन नसक्ने उम्मेदवारमा तारकेश्वर गाउँपालिकाको उपाध्यक्ष पदमा स्वतन्त्रका उम्मेदवार टेकबहादुर तामाङ, लिखु गाउँपालिका-१ को वडाध्यक्ष पदमा स्वतन्त्रका उम्मेदवार रामप्रसाद लामिछाने, विनपा-४ को वडाध्यक्ष पदमा जन समाजवादी पार्टीका उम्मेदवार निरञ्जन घिमिरे, विनपा-६ को वडाध्यक्ष पदमा जन समाजवादी पार्टीका उम्मेदवार सरोज कुमाल, पञ्चकन्या गाउँपालिका-२ को वडाध्यक्ष पदमा स्वतन्त्रका उम्मेदवार जगदीश महत र राजु मिजार रहेका छन् ।

त्यस्तै, किस्पाङ गाउँपालिका-१ मा वडाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार पाल्देन लामा र स्वतन्त्रको उम्मेदवार मुकेश घले, बेलकोटगढी नगरपालिका-१ को वडासदस्यमा राप्रपाको उम्मेदवार सक्षम पुडासैनी, ककनी गाउँपालिका-३ मा उन्नत लोकतन्त्र पार्टीबाट वडासदस्य पदका उम्मेदवार पुरुषोत्तम बलामी, किस्पाङ गाउँपालिका-१ को वडासदस्य पदमा जन समाजवादी पार्टीका उम्मेदवार सायमन तामाङ र साटो घलेले एक मत पनि ल्याउन सकेनन् । पञ्चकन्या गाउँपालिका-२ को वडासदस्यमा स्वतन्त्रका उम्मेदवार राजु मिजार, मानबहादुर मिजार र दिपेश मिजार, पञ्चकन्या गाउँपालिका-२ को दलित महिला सदस्य पदमा स्वतन्त्रका उम्मेदवार सरिता मिजार र विदुर नगरपालिका-६ को महिला सदस्य पदमा जन समाजवादी पार्टीका उम्मेदवार गोमा तामाङको गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणामअनुसार एक मत पनि आएन ।

त्यसैगरी एक मत मात्र ल्याउने उम्मेदवारमा नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्ष पदका स्वतन्त्रका उम्मेदवार सन्तलाल तामाङ, लिखु गाउँपालिकाको अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार दीपचन्द्र राई, ककनी गाउँपालिकाको अध्यक्षमा नेपाः राष्ट्रिय पार्टीको उम्मेदवार ज्ञानबहादुर लामा, बेलकोटगढी नगरपालिका-९ को वडाध्यक्षमा स्वतन्त्रका उम्मेदवार केशवप्रसाद भट्ट, विनपा-१२ को वडाध्यक्ष पदमा जन समाजवादी पार्टीका उम्मेदवार राजकुमार तामाङ रहेका छन् । यस्तै, तादी गाउँपालिका-५ वडाध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार निकेश लामा, किस्पाङ गाउँपालिका-४ वडाध्यक्ष पदमा मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार पूर्णमान तामाङ, बेलकोटगढी नगरपालिका-४ का महिला सदस्य पदकी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार ठूलीकान्छी पाण्डे, किस्पाङ गाउँपालिका-३ को वडासदस्य पदमा जन समाजवादी पार्टीका उम्मेदवार सुपाल तामाङले एक-एक मत मात्र ल्याएका छन् । विनपा-३ को वडासदस्य पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशव खड्का, विनपा-६ को वडासदस्य पदमा जन समाजवादी पार्टीका उम्मेदवार लालबहादुर राई र सन्तोष सुनारको पनि एक/एक मत आएको छ ।

दुई मत मात्र ल्याउने उम्मेदवारमा पञ्चकन्या गाउँपालिकाको अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार उद्धव कोइराला, तादी गाउँपालिकाको अध्यक्ष पदका मौलिक जरोकिलो पार्टीका उम्मेदवार वासु उप्रेती, नेकपा (समाजवादी) पार्टीबाट तादी गाउँपालिकाको अध्यक्षको उम्मेदवार टीकाराम तामाङ र स्वतन्त्रका उम्मेदवार भोगबहादुर अधिकारी, ककनी गाउँपालिकाको उपाध्यक्ष पदका सामाजिक एकता पार्टीका उम्मेदवार पुतली तामाङ, बेलकोटगढी नगरपालिका-४ को वडाध्यक्ष पदका नेकपा (एकीकृत समाजवादी)की उम्मेदवार सुजता नेपाल (पाण्डे) बेलकोटगढी नगरपालिका-१० का वडाध्यक्ष पदकी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार अप्सरा घिमिरे रहेका छन् । त्यस्तै, शिवपुरी गाउँपालिका-३ को वडाध्यक्ष पदका नेपाली काङ्ग्रेस (बिपी) का उम्मेदवार विकाश तामाङ, तादी-३ को वडाध्यक्ष पदमा मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मानबहादुर तामाङ, तादी गाउँपालिका-६ वडाध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार ठकुराम तामाङ, ककनी गाउँपालिका-३ मा वडाध्यक्ष पदका नेकपा एकीकृत समाजवादीका उम्मेदवार नवराज बजगाईं, किस्पाङ गाउँपालिका– ३ को वडासदस्य पदका जन समाजवादी पार्टीका उम्मेदवार केशव तामाङ, शिवपुरी गाउँपालिका-४ को वडासदस्यमा पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुदन थापाले दुई/दुई मत ल्याएका छन् ।

तीनभन्दा बढी मत ल्याउने उम्मेदवारमा किस्पाङ गाउँपालिकाको अध्यक्ष पदका स्वतन्त्रका उम्मेदवार रामकृष्ण न्यौपानेको ६ मत, म्यागङ गाउँपालिकाको अध्यक्ष पदमा राप्रपाका उम्मेदवार विजय तामाङको सात मत, बेलकोटगढी नगरपालिका-८ को वडाध्यक्ष पदका जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमबहादुर तामाङको पाँच मत, बेलकोटगढी नगरपालिका-९ को वडाध्यक्ष पदका जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमप्रसाद कोइरालाले आठ मत, स्वतन्त्रबाट वडाध्यक्षका उम्मेदवार दिनेश विश्वकर्माले तीन मत, बेलकोटगढी नगरपालिका-१० को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टीका उम्मेदवार धनबहादुर बस्नेतले सात मत, बेलकोटगढी नगरपालिका-१० को वडाध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अनिश त्रिपाठीको तीन मत, विदुर नगरपालिका-५ को वडाध्यक्ष पदमा स्वतन्त्रका उम्मेदवार भीमबहादुर कुमालको पाँच मत मात्रै प्राप्त भएको छ । विदुर नगरपालिका-७ को वडाध्यक्ष पदमा मंगोल नेसनल अगनाइजेसनका उम्मेदवार शेरबहादुर तामाङको तीन मत आएको छ । विदुर नगरपालिका-८ को वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार उत्तमबहादुर केसीको तीन मत, सूर्यगढी गाउँपालिका-५ को वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार श्यामप्रसाद पाठकले चार मत पाएका छन् ।

त्यस्तै, बेलकोटगढी नगरपालिका-११ को वडाध्यक्ष पदका नेकपा एकीकृत समाजवादीका उम्मेदवार सुनील तामाङको आठ मत, किस्पाङ गाउँपालिका-१ वडाध्यक्ष पदका राप्रपाका उम्मेदवार सुवास तामाङले पाँच मत, म्यागङ गाउँपालिका-४ को वडाध्यक्ष पदका जनता समाजवादी पार्टीका उम्मेदवार छान्ता तामाङको पाँच मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवार अमृत घलेको चार मत आएको छ । ककनी-१ का वडासदस्य पदमा उन्नत लोकतन्त्र पार्टीका उम्मेदवार अमितकुमार बलामीले तीन मत, किस्पाङ गाउँपालिका-१ को वडासदस्य पदका राप्रपा उम्मेदवार सुन्तली विश्वकर्माले पाँच मत ल्याए । विदुर नगरपालिका-९ को महिला सदस्य पदमा जन समाजवादी पार्टीका उम्मेदवार सीता विश्वकर्माले तीन मत ल्याइन् । जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार उम्मेदवारी दर्ता गर्दा मतदाता नामावलीमा नाम भएका एकजना प्रस्तावक र एकजना समर्थकको समेत गरेर योग्य उम्मेदवारको कम्तीमा तीन मत आउनुपर्ने भए पनि त्यो प्रावधान यसपटक केहीमा देखिएन ।

‘पार्टीबाट टिकट नपाउनुको आक्रोश, राजनीतिक दलप्रतिको नैराश्यतालगायतका कारण उम्मेदवारी दर्ताको समयमा स्वतन्त्र उम्मेदवारी दिएकाहरू मतदानसम्म आइपुग्दा निष्क्रिय भएको पाइयो,’ निर्वाचन अधिकारी गौतमले भने, ‘दलका उम्मेदवारको समेत न्यून मत आउनुले दलीय गतिविधि पनि कमजोर हो कि भन्ने लाग्दछ ।’ निर्वाचनको मतदानअन्तर्गत खसेको कुल सदर मतको १० प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । नुवाकोटमा कति उम्मेदवारको धरौटी जफत भयो भनेर तथ्याङ्क निकाल्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।