विदुर, दोस्रो स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । सम्पन्न निर्वाचनमा नुवाकोटको १२ पालिका र ८८ वटा वडामध्ये दुई वडामा महिला अध्यक्ष निर्वाचित भएका छन् ।
जिल्लाको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ३ र ६ मा महिला वडाध्यक्ष निर्वाचित भएका हुन् । वडा नम्बर ६ को अध्यक्षमा निर्वाचित अम्बिका तामाङ गत ०७४ को स्थानीय निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भएकी थिइन् । वडाध्यक्ष तामाङ ०७४ र ०७९ मा नेकपा एमालेबाट उम्मेदवार बनेकी थिइन् । उनी यसपटकको ६ सय १५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएकी छिन् । उनले नेकपा माओवादी केन्द्रका कमलराज सुवेदीलाई ६९ मतले पराजित गरिन् । वडाध्यक्षमा विजयी तामाङले ६ सय १५ र निकटतम् प्रतिद्वन्द्वी सुवेदीले पाँच सय ४६ मत प्राप्त गरेका थिए । त्यसैगरी, बेलकोटगढी नगरपालिका वडा नम्बर ३ मा पनि वडाध्यक्ष पदमा महिलाले पुरुषलाई हराएकी छिन् । वडाध्यक्ष जितेकी कौशिला पुडासैनीले यसपटक नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका उमेश अधिकारीलाई एक सय ६१ मतान्तरले पछि पारिन् । विजयी पुडासैनीले आठ सय ९६ र प्रतिस्पर्धी अधिकारीले सात सय ३५ मत प्राप्त गरेका थिए । यसअघि ०७४ मा सोही वडाको महिला सदस्य जितेकी पुडासैनी नेकपा (माओवादी केन्द्र)को तर्फबाट दुवैपटक उम्मेदवार बनेकी हुन् ।




प्रतिक्रिया