समाजवादीको एमाले हराऊ अभियान सफल एक वडासदस्य मात्र सर्वसम्मत विजयी

  • त्रिशूली प्रवाह
  • १२ जेष्ठ २०७९, बिहीबार १२:१७

बेलकोटगढी, अध्यादेशबाट जन्मिएको नेकपा एकीकृत समाजवादी पार्टीले नुवाकोटमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले हराऊ अभियान सुरु गरेको थियो । उक्त अभियान सफल बनाउन लाग्दा समाजवादी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्य, वडा महिला र दलित महिला सदस्य गरी चार सय ६४ पदमध्ये कुनै पनि पदमा विजय हुन सकेन । एक वडासदस्य पदमा भने सर्वसम्मत पाएको छ । अन्य दलले उम्मेदवार नउठाएपछि बेलकोटगढी नगरपालिकाको वडा नम्बर-१ को दलित महिला सदस्यमा विजय प्राप्त गरेको छ ।

वास्तविकतामा अन्य दलले उम्मेदवार नै नपाउँदा बेलकोटगढी नगरपालिकाको वडा नम्बर-१ को दलित महिला सदस्यमा समाजवादीबाट ठूलीकान्छी नेपाली निर्विरोध निर्वाचित भएकी हुन् । यो ०७९ को स्थानीय निर्वाचनमा समाजवादीले नुवाकोटमा प्राप्त गरेको सकारात्मक सफलता यति मात्रै हो । समाजवादीको केन्द्रीय नीतिअनुसार देशभर नेकपा एमाले पत्तासाफ गर्ने अभियानमा नुवाकोटमा पनि केही सफलता प्राप्त गरेको छ । समाजवादी नुवाकोटको शिवपुरी र तादीमा गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार हराउन सफल देखिएको छ भने ककनी गाउँपालिकामा उपाध्यक्ष पराजित गर्न सफल देखिएको छ । नुवाकोटमा समाजवादीले आफ्नो उम्मेदवार भएको ठाउँमा आफ्ना उम्मेदवार र नभएको ठाउँमा एमालेविरुद्ध जो जित्ने छ उसैलाई मत दिने निर्णय गरेको थियो । समाजवादीले पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्य, वडा महिला र दलित महिला सदस्य गरी चार सय ६४ पदमध्ये बेलकोटगढीको एक दलित महिला सदस्यमा जित हासिल गरेको छ ।

जिल्लाको शिवपुरी गाउँपालिकामा विजेता नेपाली काङ्ग्रेसका गोविन्दप्रसाद थपलियाले चार हजार एक सय ८२ मत ल्याउँदा नेकपा एमालेका जितेन्द्र विष्टले तीन हजार दुई सय ६८ मत प्राप्त गरेका छन् । विजेता र एमाले उम्मेदवारको बीचको मतान्तर नौ सय ४१ रहेको छ । जब कि नेकपा एकीकृत समाजवादीका पदमबहादुर उप्रेतीले चार हजार ७३ मत प्राप्त गरेका छन् । यसमा नेकपा माओवादी केन्द्रको समेत मत जोडिएको छ । शिवपुरी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन कायम भएको थियो । त्यस्तै, ककनी गाउँपालिकामा विजेता उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मिठुमाया लामाले चार हजार एक सय ७४ मत ल्याएर विजयी हुँदा एमालेकी लजिता लामाले तीन हजार सात सय ७१ मत प्राप्त गरेकी छिन् । मिठु र लजिताबीच चार सय तीन मतको अन्तर रहेको छ जब कि उपाध्यक्षमै नेकपा एकीकृत समाजवादीका जितबहादुर बलामीले एक हजार दुई सय ९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, तादी गाउँपालिकामा नेपाली काङ्ग्रेसका सन्तामान तामाङले तीन हजार दुई सय ४१ मत ल्याएर विजयी भए । नेकपा एमालेका विजयकुमार खनालले एक हजार आठ सय ३० मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर एक हजार चार सय ११ रहेको छ । जब कि नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद लामिछानेले एक हजार नौ सय ४० मत प्राप्त गरेका थिए । तादीमा पनि एमाले पराजित भएको छ । कतिपय वडामा पनि समाजवादीले एमालेलाई क्षति पु¥याउन सफल भएको छ । नुवाकोटमा समाजवादी तादी र ककनीमा गाउँपालिकामा एक्लै लडेको थियो भने बाँकीमा कतै काङ्ग्रेस र माओवादी त कतै माओवादीसँग मात्र तालमेल गरेको थियो । समाजवादीबाट शिवपुरी गाउँपालिकाको अध्यक्षमा पदम उप्रेती, वडा नम्बर-८ को अध्यक्षमा पदमप्रसाद थपलिया र वडा नम्बर-४ को अध्यक्षमा ओमबहादुर बुढाथोकी उम्मेदवार रहेका थिए । उक्त पालिकाको बाँकी पदमा समाजवादीले माओवादीलाई सहयोग गरेको थियो । त्यस्तै, तादी गाउँपालिकामा अध्यक्षमा कृष्णप्रसाद लामिछाने, उपध्यक्षमा सरू मिश्र उप्रेती, वडा नम्बर-१ को अध्यक्षमा यमबहादुर तामाङ, वडा नम्बर-२ मा प्रेमहरि श्रेष्ठ, वडा नम्बर-३ मा अर्जुन श्रेष्ठ, वडा नम्बर-४ मा कुमार पाठक, वडा नम्बर-५ मा बाबुराम लामा र वडा नम्बर-६ मा सूर्यबहादुर तामाङले प्रतिस्पर्धा गरेका थिए ।

सूर्यगढी गाउँपालिका अध्यक्षमा ध्रुव अधिकारी र वडा नम्बर-३ को अध्यक्षमा रोजराज अधिकारीले प्रतिस्पर्धा गरेका थिए । लिखु गाउँपालिका वडा नम्बर-२ मा हरिप्रसाद ढकाल र पञ्चकन्या गाउँपालिका वडा नम्बर-५ को अध्यक्षमा गणेशबहादुर थापाले प्रतिस्पर्धा गरेका थिए । ककनी गाउँपालिकाको उपाध्यक्षमा जितबहादुर बलामी, वडा नम्बर-१ को अध्यक्षमा राजेश बलामी, वडा नम्बर-२ को अध्यक्षमा मानबहादुर लामा, वडा नम्बर-३ को अध्यक्षमा नवराज बजगाईं, वडा नम्बर-४ को अध्यक्षमा योगेन्द्र तामाङ, वडा नम्बर-५ को अध्यक्षमा रिलबहादुर तामाङ, वडा नम्बर-६ को अध्यक्षमा शेरबहादुर लामाले प्रतिस्पर्धा गरेका थिए । उक्त गाउँपालिकाको अध्यक्षमा समाजवादीले माओवादीलाई सहयोग गरेको थियो । समाजवादीबाट किस्पाङ गाउँपालिका वडा नम्बर-१ को अध्यक्षमा पाल्देन लामा उम्मेदवार थिए जसले एक मत पनि पाएनन् । विदुर नगरपालिका वडा नम्बर-६ को अध्यक्षमा रामकाजी दीक्षित उम्मेदवार रहेका थिए ।

त्यस्तै, बेलकोटगढी नगरपालिकाको प्रमुखमा सानुकुमारी लामा र उपप्रमुखमा प्रकाश नेपाल उम्मेदवार रहेका थिए । वडा नम्बर-१ को दलित महिला सदस्यमा ठूलीकान्छी नेपाली निर्विरोध निर्वाचित भइन । वडा नम्बर-२ मा गोपीप्रसाद रेग्मी, वडा नम्बर-४ मा सुजता नेपाल पाण्डे, वडा नम्बर-५ मा रामप्रसाद भुर्तेल, वडा नम्बर-१० मा अप्सरा घिमिरे, वडा नम्बर-११ को अध्यक्षमा सुनील तामाङ, वडा नम्बर-१२ को अध्यक्षमा सागर अधिकारी, वडा नम्बर-१३ को अध्यक्षमा गणेशकुमार लोहनी उम्मेदवार रहेका थिए ।