चोरीको घटना बढ्दो

  • त्रिशूली प्रवाह
  • १९ जेष्ठ २०७९, बिहीबार ११:२३

धुन्चे, रसुवा जिल्लामा वैशाख महिनाको पहिलो हप्तादेखि चोरीका घटना अत्यधिक बढेका छन् । चोरी कसले गरेको हो भन्ने हालसम्म पत्ता लागेको छैन ।

गत बिहीबार राति उत्तरगया गाउँपालिका-५ मा रहेको दुईवटा सहकारीका कार्यालयमा चोरी भएको छ । कालिका बहुउद्देश्यीय सहकारी संस्था र जनजागरण बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो । कालिका बहुउद्देश्यीय सहकारी संस्थाबाट ७३ हजार चार सय ४५ रुपैयाँ चोरी भएको सहकारीका व्यवस्थापक गोविन्द घिमिरेले बताए । उत्तरगया गाउँपालिका-४ कर्मीडाँडामा रहेको लहरेपौवा स्वास्थ्यचौकी र स्थानीयको घरमा पनि एकैपटक चोरी भएको छ । बिहीबार चोरी गर्ने व्यक्तिले जनजागरण बचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोडसमेत गरेको संस्थाका अध्यक्ष ओम आचार्यले बताए । कार्यालयमा तोडफोड गरे पनि नगद भने चोरी भएको छैन ।

गत हप्ता पनि कालिका गाउँपालिकाको कालिकास्थान, धारापानी, बेतिनी तथा उत्तरगया गाउँपालिका-५ को माझगाउँ र बनुवा घुम्तीमा चोरीको घटना भएको थियो । कालिका गाउँपालिकामा विभिन्न ठाउँमा सातवटा निजी घर तथा बेतिनीमा रहेको सामुदायिक स्वास्थ्य एकाइका साथै सहकारी संस्था र उत्तरगया गाउँपालिका-५ वडा कार्यालय निजी घरसमेत तोडफोड भएको भन्दै प्रहरीमा उजुरी परेको छ । दुई दर्जनभन्दा बढी घरलगायत स्वास्थ्य संस्था, सहकारी, वडा कार्यालयलगायतबाट गरगहना, नगद चोरी भएका छन् भने केही स्वास्थ्य संस्था तोडफोड गरेका छन् । हालसम्म चोरीमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नसकिएको र छिट्टै नै पक्राउ गर्ने, अहिले चोरीमा संलग्नको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख कुलदीप चन्दले बताए । चोरीका घटनाबाट स्थानीय त्रसित भएका छन् ।