Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

क्याम्पसको बेथिति विरुद्ध संस्थापक अध्यक्ष र क्याम्पस प्रमुख नै अदालतमा

त्रिशूली प्रवाह
३ साल अगाडी

बट्टार, नुवाकोट, रसुवा र धादिङकै पहिलो सामुदायिक क्याम्पसको रूपमा नुवाकोट आदर्श बहुमुखी क्याम्पस पञ्चायती व्यवस्थाको उत्तरार्ध ०४२ सालमा स्थापना भएको थियो । उच्च शिक्षा अध्यापन गराउने नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा बेथिति बढेपछि सरोकारवाला जुर्मुराउन थालेका छन् । क्याम्पसमा भएको बेथितिविरुद्ध संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक र क्याम्पसप्रमुख नै अदालतको ढोका ढकढक्याउन बाध्य भएका छन् ।

शौक्षिक संस्थालाई शक्ति केन्द्रको आडमा केही व्यक्तिले विगत तीन वर्षदेखि कब्जा गरेर अवैधानिक गतिविधि सञ्चालन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पस ०४२ सालमा खुलेको हो । पञ्चायती व्यवस्था धर्मराउँदै गएपछि तत्कालीन शिक्षाप्रेमी स्थानीयको पहलमा खोलेको क्याम्पसलाई अहिले साधन, स्रोत र विद्यार्थीको कमी छैन । क्याम्पसलाई विधि र पद्धतिमा हिँडाउन नसक्दा दातृ निकाय र विभिन्न सङ्घ-संस्थाले समेत विश्वास नगर्ने अवस्था आएको छ ।

क्याम्पसमा विधि र विधानलाई धोती लगाउने कार्यको सुरुवात ०७६ चैत १८ गते सञ्चालक समितिको बैठकले गरेको थियो । उक्त बैठकले ०७६ जेठ ६ मा मनोनीत क्याम्पससभाका सदस्यलाई तीनवर्षे पदावधि हुँदाहुँदै ०७६ चैत १८ गते १० महिनामै दोहोरो क्याम्पस सभा सदस्य मनोनीत गरिएको थियो । ०७६ जेठ ६ गतेको वैधानिक निर्णय गरेको बैठक पुस्तिका गायव गरेर ०७६ चैत १८ गते कोरोना लकडाउनको मौका छोपी दोहोरो क्याम्पस सभा सदस्य मनोनीत गरिएको थियो । ०७८ माघ २ गते कानुनविपरीत तरिकाले बहालवाला क्याम्पसप्रमुख भोलाप्रसाद पाण्डेलाई अपदस्थ गरी प्राध्यापक सङ्घ क्याम्पस इकाइका सभापति जितेन्द्र अर्याललाई क्याम्पसप्रमुखमा समेत नियुक्ति गरियो । उक्त ०७६ चैत १८ गते मनोनीत क्याम्पस सभा सदस्यले वैधानिक अध्यक्ष, वैधानिक क्याम्पसप्रमुखलाई उपस्थित हुन नदिएर क्याम्पसको विधानविपरीत क्याम्पस सभा ०७८ माघ १९ गते गरे । उक्त सभाले श्रीराम श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष रहेको सञ्चालक समिति गठन ग¥यो । त्यसपछि विधि र विधानलाई ध्वस्त पार्दै कथित क्याम्पस सभाले अध्यक्ष चयन गरेको श्रीराम श्रेष्ठले आफूअनुकूल क्याम्पस सञ्चालन गर्न थाले ।

क्याम्पसको उक्त सञ्चालक समिति अवैधानिक रहेकाले खारेज गरिपाऊँ भनेर क्याम्पसका संस्थापक एवम् प्रमुख संरक्षक वसन्तलाल श्रेष्ठले ०७८ चैत २२ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका छन् । क्याम्पसमा पूर्णकालीन सिनियर स्थायी प्राध्यापक एवम् क्याम्पसप्रमुख भोलाप्रसाद पाण्डेलाई ०७८ माघ २ गतेको बैठकले हटाएपछि वैधानिक लडाइँमा सरोकारवाला पक्ष उत्रेका छन् । त्रिविले तथा सर्वोच्च अदालतले पुनर्वहाली गरेको अध्यक्ष रामशरण प्याकुरेललाई जानकारी नै नगराई बैठक बस्न खोजेपछि तत्कालीन सञ्चालक समितिका ज्येष्ठ सदस्य तर्कराज सिलवाललाई भन्दा नमानेपछि अर्का सदस्य छत्रराज डङ्गोललाई ज्येष्ठ सदस्य बनाई उनको अध्यक्षतामा प्राध्यापक सङ्घका सभापति जितेन्द्र अर्याल, तत्कालीन समयका पूर्वअध्यक्ष श्रीराम श्रेष्ठ भई तीन सदस्यीय सञ्चालक समितिले बैठक बसी क्याम्पसप्रमुख भोला पाण्डेलाई अपदस्थ गरी जितेन्द्र अर्याललाई नियुक्ति गरेको थियो । उक्त निर्णयको विरुद्ध वैधानिक क्याम्पसप्रमुख पाण्डे र त्रिविले नियुक्त गरेको अध्यक्ष प्याकुरेलले ०७८ फागुन २ गते उच्च अदालत पाटनमा बैठकको निर्णय खारेजको माग गर्दै मुद्दा दर्ता गरेका थिए । अवैधानिक बैठकले ०७८ फागुन १२ गते क्याम्पसको वार्षिकोत्सव मनाउने निर्णयसमेत गरेको थियो । अदालतमा मुद्दा दर्ता गरेको पत्र सामाजिक सञ्जालमा फैलिएपछि उक्त कार्यक्रम स्थगित भएको थियो ।

कथित क्याम्पस सभाबाट चयन भएका सञ्चालक समितिका पदाधिकारीले विधानविपरीत कार्य गरिरहेका छन् । अदालतमा दुवै मुद्दा चलिरहे पनि सञ्चालक समितिको कथित अध्यक्ष श्रीराम श्रेष्ठले क्याम्पसमा आतङ्क नै सिर्जना गरेर आफूअनुकूल कार्य नगर्ने प्राध्यापकलाई कक्षा नदिने, अभद्र व्यवहार गर्ने र आर्थिक अपचलन भइरहेको जानकारी गराउन अख्तियारका प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई अपदस्थमा परेका क्याम्पसप्रमुख भोलाप्रसाद पाण्डेले ०७९ वैशाख ८ गते निवेदन नै दर्ता गराएका थिए । पाण्डेको उक्त निवेदनलाई प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले सम्बोधन गर्दै क्याम्पसलाई वैशाख २० गते पत्र पठाएर क्याम्पसको विधानअनुसार काम गर्न सुझाएका थिए । अध्यक्षको निर्देशनमा क्याम्पसप्रमुख अर्यालले क्याम्पसबाट भोलाप्रसाद पाण्डेले पाउनुपर्ने तलब, भत्ता माघदेखि रोकेर हाजिर गर्न नदिने, उनको कक्षा कटाउने र क्याम्पसको गेटबाट समेत प्रवेशमा निषेध गरेका छन् ।

क्याम्पसका संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक ८७ वर्षीय वयोवृद्ध वसन्तलाल श्रेष्ठले अदालतले छिट्टै न्याय दिने बताउँदै सम्पूर्ण जिल्लावासीको सरोकार रहेको यस शैक्षिक संस्थालाई विधि र विधानसम्मत् सञ्चालन गर्न सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह