- सरस्वती न्यौपाने
धुन्चे, रसुवामा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपश्चात् आफ्नो क्षेत्रभित्रका धार्मिक गुम्बा संरक्षणलाई पहिलो प्राथमिकता दिएका छन् ।
गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङ क्षेत्रका वडाध्यक्ष डिण्डु लामा ज्यावाले लाङटाङको क्याङजेनमा रहेको ६ सय वर्ष पुरानो ऐतिहासिक, धार्मिक र पुरातात्विक गुम्बा संरक्षण गर्ने कामलाई पहिलो प्राथमिकता दिने घोषणा गरेका छन् । उनको यो घोषणाबाट वडावासीले स्थानीय सरकार रहेछ भन्ने महसुस गर्दै उनलाई सघाउने बताएका छन् । भूकम्पपछि पुनर्निर्माण गरिएको क्याङ्जेनको गुम्बामा पानी चुहिन थालेपछि स्थानीय प्रमुख लामा तेन्जेन लामाको मागलाई सम्बोधन गर्दै नेपालको तेस्रो पर्यटकीय क्षेत्रसमेत मानिएको क्षेत्रमा धर्म-संस्कृति संरक्षणका लागि वडा कार्यालयले निर्णय गरेको छ । वडाध्यक्षको पहिलो निर्णयले शीघ्र कार्यान्वयन हुने अपेक्षासहित बौद्ध धर्मावलम्बीलाई हितकारी हुने भएकाले लाङटाङवासी हर्षित भएको पूर्वजिल्ला विकास समितिका सदस्य कर्म तामाङले बताए ।
सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल दूरीमा रहेको पर्यटकीय क्षेत्रमा स्थानीय निर्वाचनबाट निर्वाचित भएका स्थानीय सरकारले स्थानीय कला-संस्कृतिको संरक्षणका साथै हिमाली भेगको जीविकोपार्जन गर्ने आधार पर्यटन प्रवद्र्धनमा पहिलो प्राथमिकता दिनेमा आशावादी रहेका छन् ।
प्रतिक्रिया