मत बदर बेलकोटमा धेरै, पञ्चकन्यामा कम

  • त्रिशूली प्रवाह
  • १९ जेष्ठ २०७९, बिहीबार ११:४२
  • रामशरण प्याकुरेल

विदुर, स्थानीय तह निर्वाचनमा नुवाकोट जिल्लामा कुल खसेको मतको ११ दशमलव ८३ प्रतिशत मत बदर भएको छ । जिल्लाको १२ वटा पालिकामध्ये बदर मत बढी हुनेमा बेलकोटगढी नगरपालिका र कम मत बदर हुनेमा पञ्चकन्या गाउँपालिका रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार जिल्लामा एक लाख ६८ हजार एक सय ५५ मत खसेको थियो । कुल दुई लाख ३७ हजार चार सय ३४ मतदाता कायम रहेकोमा एक लाख ६८ हजार एक सय ५५ मत खसेको थियो । जिल्लाभर कुल खसेको मतको आधारमा सम्पूर्ण रूपमा बदर भएको मतको सङ्ख्या तीन हजार एक सय ६९ मत रहेको छ । कुल खसेको मतमा एक लाख ५० हजार तीन सय ६४ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटको १२ वटै स्थानीय तहमा गरेर १७ हजार सात सय ९१ मत बदर भएको थियो । जिल्लामा कायम भएका मतदातामध्ये ७० दशमलव ८० प्रतिशत मत खसेकोमा ११ दशमलव ८३ प्रतिशत मत बदर भएको हो । सबैभन्दा बढी मत बेलकोटगढीमा बदर भएको छ । २४ हजार आठ सय ५१ मत खस्दा तीन हजार पाँच सय ८५ मत बदर भएको छ । त्यस्तै, सबैभन्दा कम मत बदर हुनेमा पञ्चकन्या गाउँपालिका रहेको छ । पञ्चकन्या गाउँपालिकामा १० हजार पाँच सय ३७ मत खस्दा सात सय ४६ मत मात्रै बदर भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।