- सुनील श्रेष्ठ
त्रिशूलीबजार, स्थानीय तह ०७९ को निर्वाचनमा विदुर नगरपालिका-१ को वडाध्यक्षमा पुनः निर्वाचित लेनिन रञ्जितले त्रिशूलीलाई सम्पदा बस्तीमा विकास गर्ने बताएका छन् । त्रिशूली सामाजिक क्लबले आयोजना गरेको सम्मान तथा बधाई शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष रञ्जितले सम्पदा बस्ती विकास गर्ने योजना बनाउने बताएका छन् ।
नवनिर्वाचित वडाध्यक्ष रञ्जितले गत कार्यकालमा गरेका अधुरा कार्यलाई पूरा गर्न निरन्तता दिई वडालाई सांस्कृतिक र पर्यटनमा विकास अघि बढाइने बताए । त्रिशूलीको पुरानो भित्री बजारलाई पर्यटकीय क्षेत्रमा विकासका लागि विदुर नगरपालिकाबाट अनुदानको कार्यक्रम ल्याउन पहल गरिने बताए । जिल्लाकै प्रमुख बजारमा रहेको त्रिशूली बजारको खस्केको व्यवसायलाई उकास्न सम्पदा विकास कार्यक्रमले टेवा पु¥याउने बताए । उक्त कार्यका लागि वडाका युवासँग सहकार्य गर्दै रोजगारीको सिर्जना गर्ने बताए । पासाङल्हामु राजमार्गबाट रिमालडाँडा हुँदै बान्द्रे नर्सरीबाट पुनः पासाङल्हामु राजमार्ग जोड्ने वैकल्पिक मार्गको स्तरोन्नतिको चुनावी प्रतिबद्धताअनुसार इन्द्रायणी र बसपार्कमा पुल निर्माण गरी वडामा चक्रपथ निर्माण गर्नेसमेत उनको योजना रहेको छ ।
वडामा सहरी र ग्रामीण भूगोल रहेकोमा ग्रामीण भूगोलमा कृषिका कार्यक्रमका लागि त्रिशूली नदीबाट पानी लिफ्ट प्रणालीद्वारा क्यौरिनी, रातोमाटे, बोगटीगाउँ, पाण्डेगाउँ र तल्लो सिमुटारमा सिँचाइ र खानेपानीको व्यवस्था गरिने उनले बताए । ०३३ भदौमा त्रिशूलीमा बुबा गुणदास र आमा शान्तिदेवीको कोखबाट जन्मेका रञ्जितको बालपन राजनीतिक परिवेशबाट हुर्केको थियो । उनका एक श्रीमती र दुई छोरा छन् । कार्यक्रममा त्रिशूली सामाजिक क्लबका अध्यक्ष नरेन्द्र अमात्यले समग्र त्रिशूलीको विकासका लागि वडा र स्थानीयको सहकार्यमा अघि बढ्ने बताए । रञ्जित नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट वडाध्यक्षमा ६ सय ९४ मत ल्याएर विजयी भएका हुन् । उनी ०७४ को स्थानीय निर्वाचनमा सात सय २८ मत ल्याएर निर्वाचित भएका थिए ।




प्रतिक्रिया