धुन्चे, स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-१ थुमनका वडाध्यक्ष उर्केन लामाले थुमन गाउँलाई नमुनायोग्य होमस्टे बनाउने प्रतिबद्धता जनाएका छन् ।
गोसाइँकुण्ड गाउँपालिका-१ थुमन पर्यटकीय क्षेत्र भएकाले यहाँको धर्म, संस्कृति तथा तामाङ परम्परालाई विशेष प्राथमिकतामा राखेर रोङ्गा-थुमन सडक १२ महिना नै सञ्चालनमा ल्याइने र पुरानो सरस्वती कुण्डलाई त्यसको पहिचान हराउन नदिन मूर्ति स्थापना गरिने बताइएको छ । सदियौँ वर्ष पुरानो नागथलीमा रहेको पुरानो गुम्बालाई पुनर्निर्माण गरी पर्यटकका लागि पर्यटन पदमार्ग निर्माण गरेर भ्युटावर निर्माणमा जोड दिई थुमन नागथलीबाट केरुङ देखिने भएकाले थुमन-नागथली-तारुक्षे-मालागढी रुट हुने गरी केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्नेसमेत वडाध्यक्ष लामाको प्रतिबद्धता रहेको छ । थुमन गाउँमा रहेको धर्म, संस्कृति र परम्परा जोगाउन स्थानीय वेशभूषाको तालिम सञ्चालन गर्ने, दाहालफेदी सडकलाई प्राथमिकता दिनेलगायत सामाजिक सुरक्षा भत्ता गाउँमा नै वितरण गर्ने बताएका छन् । नेकपा एमालेबाट नयाँ अनुहारका रूपमा वडाध्यक्षमा निर्वाचित भएसँगै थुमन गाउँलाई उत्कृष्ट होमस्टे गाउँ बनाउने र आन्तरिक तथा बाह्य पर्यटक वद्धि गराउने लामाको योजना रहेको छ ।
प्रतिक्रिया