माओवादी एक्लैले जिसस बनाउने

  • त्रिशूली प्रवाह
  • १९ जेष्ठ २०७९, बिहीबार ११:५३

विदुर, स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै कार्यपालिकाको निर्वाचन नुवाकोटमा गरेर राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको प्रक्रिया अगाडि बढेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचितमध्येबाट प्रमुख र उपप्रमुखसहित बढीमा नौजनाको समिति रहेको जिल्ला समन्वय समिति गठन हुनेछ । स्थानीय तह निर्वाचनको परिणाम आएको ३० दिनभित्र जिल्ला सभाको बैठक बस्नुपर्ने र सभाको बैठकबाटै जिल्ला समन्वय समिति गठन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । नेपालको संविधानमा निर्वाचनको नतिजा प्राप्त भएको एक महिनाभित्र जिससको निर्वाचन गरी जिल्लासभाको पहिलो बैठक बसिसक्नुपर्ने उल्लेख भएकाले सबै जिल्लामा जेठ महिनाभित्र जिल्ला समन्वय समिति गठन भइसक्नेछन् । स्थानीय तह निर्वाचन ऐनअनुसार जिल्ला सभा निर्वाचनका लागि गाउँ र नगर सभाका सदस्य उम्मेदवार बन्न सक्नेछन् । तर, उक्त निर्वाचनका मतदाता भने सम्बन्धित गाउँ र नगरपालिकाको प्रमुख तथा उपप्रमुख मात्र रहने व्यवस्था छ । जिल्ला समन्वय समिति गठनका लागि जिल्ला सभाले एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तीमा तीनजना महिला र कम्तीमा एकजना दलित वा अल्पसङ्ख्यकसहित बढीमा नौजना सदस्य रहने व्यवस्था छ । नुवाकोटका १२ वटा पालिकाका प्रमुख-उपप्रमुखमध्ये यसपटक नेकपा माओवादी केन्द्रले १२, नेपाली काङ्ग्रेसले ११ र नेकपा एमालेले एक सदस्य जितेको छ ।

माओवादी एक्लैले जिसस बनाए, एमालेले निःसर्त समर्थन गर्ने नेतृत्वले बताएपछि गठबन्धन नगरी समन्वय बन्ने पक्कापक्की भएको छ । माओवादी पार्टीभित्र समन्वय प्रमुखमा विदुर नगरपालिका-१२ बाट वडासदस्यमा निर्वाचित माओवादी केन्द्रका नेता रामचन्द्र पौडेललाई प्रमुखमा र तादी गाउँपालिका-५ बाट वडासदस्य निर्वाचित शर्मिला उप्रेती खनाललाई उपप्रमुखमा अगाडि सारिएको छ । काङ्ग्रेसको एउटा समूहले समन्वय प्रमुखमा तारकेश्वर गाउँपालिका-३ बाट वडासदस्यमा निर्वाचित चोकराज शाक्यलाई अगाडि सारेको छ । काङ्ग्रेसको १४औँ अधिवेशनदेखि बिच्किएको अर्को समूहले माओवादी केन्द्रलाई एक्लै जिसस बनाउन उक्साइरहेको छ । गत ०७४ मा काङ्ग्रेस एक्लैले जिसस बनाएको थियो ।