मेयर/उपमेयर गठबन्धनको कार्यपालिका बोर्ड एमालेको

  • त्रिशूली प्रवाह
  • १९ जेष्ठ २०७९, बिहीबार १२:०१

बट्टार, नुवाकोट जिल्लाको सदरमुकाममा रहेको विदुर नगरपालिका बोर्डमा नेकपा एमालेको बहुमत रहेको छ । गठबन्धनको तर्फबाट नगरपालिकामा नेपाली काङ्ग्रेसको मेयरसहित पाँचवटा वडाध्यक्ष र नेकपा माओवादी केन्द्रको उपमेयरसहित तीनवटा वडाध्यक्ष विजयी भएका छन् । कार्यपालिका बोर्ड २३ सदस्यीय रहेको छ । उक्त बोर्डमा एमालेका अब १३ जना सदस्य रहन्छन् ।

निर्वाचनबाट एमालेको पाँचवटा वडाध्यक्ष र ३२ जना वडासदस्य निर्वाचित भएका छन् । बुधबार कार्यपालिका बोर्ड सदस्यको निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार रहेका आठजना विजयी भएपछि एमालेको कार्यपालिका बोर्डमा १३ जना सदस्य भएका छन् । एमालेका नेता एवम् विदुर नगरपालिकाको मेयरका प्रत्याशी सञ्जु पण्डितले दिएको जानकारीअनुसार खुला महिला पाँच सदस्यमा सबु मिजार, सावित्री राई, इन्दिरा मिजार, राधिका तामाङ, बिन्दा तिमिल्सिना विजयी भएका छन् । तीनजना अल्पसङ्ख्यक तथा दलिततर्फबाट दीपक कुमाल, शिवबहादुर विक, सीताराम मिजार निर्वाचित भएका छन् । नगरपालिकाको चुनावमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धन रहेको थियो । गठबन्धनले मेयर-उपमेयर र आठवटा वडा जिते पनि कार्यपालिका सदस्य निर्वाचनमा उनीहरूको ३० मत मात्र रहेको थियो । गठबन्धनले एमालेका कार्यपालिकाका सदस्य निर्वाचनको मतदाता ठूलै रकम खर्च गरेर खरिद गर्ने हल्ला चले पनि एमालेका सङ्गठित र अनुशासित कार्यकर्ताले उक्त हल्लालाई निरुत्साहित गरिदिएको विदुर नगर कमिटीका इन्चार्ज सञ्जीवबहादुर श्रेष्ठले बताए । अब नगरपालिकामा एमालेको सहमतिबेगर गठबन्धनबाट निर्वाचित मेयर-उपमेयरले कुनै पनि निर्णय गर्न नसक्ने भएका छन् ।