एमाले जनसङ्गठनको रासायनिक मल सहज गर्ने माग

  • त्रिशूली प्रवाह
  • २६ जेष्ठ २०७९, बिहीबार १३:०६

विदुर, नेपालीको प्रमुख पेसा र देशको अर्थतन्त्रको मेरुदण्ड बनेको कृषि क्षेत्रले अहिले रासायनिक मलको चरम अभाव व्यहोरिरहेको छ । कृषि उत्पादन बढाउन नभइनहुने रासायनिक मलको अभाव हटाई सहज आपूर्ति गरी वितरणको व्यवस्थापन गर्न नेकपा एमालेको जनसङ्गठनले मंगलबार नुवाकोटका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्न ज्ञापनपत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाललाई एमाले नुवाकोटको जनवर्गीय सङ्गठन समन्वय संयन्त्रका संयोजक नीलकण्ठ आचार्यले ज्ञापनपत्र बुझाई वास्तविक किसान सधैँ मर्कामा परिरहेको बताए । प्रमुख जिल्ला अधिकारी रिसालले ज्ञापनपत्र बुझ्दै सम्बन्धित कार्यालयमा कार्यान्वयनका लागि पठाइदिने र जिल्लामा गर्नुपर्ने कार्य तत्काल गर्ने प्रतिबद्धता जनाए । जनसङ्गठनले रासायनिक मल आपूर्ति सहज गर्न, कृषि उपजको उचित मूल्य निर्धारण गर्न, सिँचाइको व्यवस्था गर्न, वडा-वडामा कृषिविज्ञको व्यवस्था गर्न, आधुनिक र उन्नत बिउ-बिजन, कीटनाशक औषधि, कृषि औजार वडा तहसम्म पु¥याउन माग गरेको छ । जनसङ्गठनले पाठ्यपुस्तक उपलब्ध गराउन, सुपथ मूल्यको पसल सञ्चालन गर्न, विद्यार्थीलाई गाडी भाडा छुट दिन, इम्बोस नम्बर प्लेट बाध्यकारी व्यवस्था खारेज गर्न र जिल्लामा भइरहेको लुटपाट, चोरी नियन्त्रण गर्नसमेत ज्ञापनपत्रमार्फत माग गरेको छ ।