नवनिर्वाचित जनप्रतिनिधिलाई वाणिज्य सङ्घको स्वागत

  • त्रिशूली प्रवाह
  • २६ जेष्ठ २०७९, बिहीबार १४:३०

विदुर, हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नुवाकोटबाट निर्वाचित जनप्रतिनिधिलाई नुवाकोट उद्योग वाणिज्य सङ्घले विशेष कार्यक्रम गरेर शुक्रबार स्वागत र बधाई तथा शुभकामना दिएको छ ।

जिल्लाका १२ पालिकाको प्रमुख/उपप्रमुख र विदुर नगरपालिका वडा नं. १३ का अध्यक्षलाई फूलमाला, खादा लगाई स्वागत गर्दै स्थानीय निकायसँग सङ्घले सहयोगको अपेक्षा गरेको छ । सङ्घले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले गुरुयोजना बनाएर स्थानीय सरकारलाई काम गर्न आग्रह गरे । उनले भन्नुभयो, ‘पालिकामा राजस्व वृद्धि गर्न आर्थिक गतिविधि सञ्चालन गर्न नुवाकोट उद्योग वाणिज्यसँग सहकार्य जरुरी छ ।’ कार्यक्रममा सांसद लामाले गुरुयोजना बनाएर अघि बढ्दा सीमित स्रोतबाट पनि उत्कृष्ट उपलब्धि हासिल गर्न सकिने बताए । स्थानीय तहलाई कुन रूपमा विकास गर्ने भन्ने विषयमा जनप्रतिनिधिको लक्ष्य तथा योजना महत्वपूर्ण रहने भन्दै उनले नुवाकोटका नवनिर्वाचित जनप्रतिनिधिलाई दिगो विकासको लक्ष्यलाई आत्मसात् गर्दै अघि बढ्न आग्रह गरेका छन् । सो कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति रमेशकुमार महतले जिल्ला भएर बग्ने तादी, लिखु, त्रिशूलीलगायतको नदी संरक्षणमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताए । आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा पर्यावरणको क्षेत्रलाई पनि विशेष प्राथमिकता दिन उनले आग्रह गरे ।

कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नीति तथा कार्यक्रम र बजेटको निर्माणमा नगरपालिका रहेकाले नगरवासीबाट रचनात्मक सल्लाह, सुझावको अपेक्षा राखेको बताए । उक्त कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले पालिकाको राजस्व परामर्श समितिमा नुवाकोट उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलाई सहभागी गराउन र सहकार्य गर्न प्रतिबद्धता जनाए । नुवाकोट उद्योग वाणिज्य सङ्घको साधारण सदस्यसमेत रहेका तामाङले सङ्घका लागि आवश्यक समन्वय, सल्लाह र सहयोग गर्न तत्पर रहेको बताए । नुवाकोट उद्योग वाणिज्य सङ्घबाट प्रवाह हुने सेवालाई जिल्लाको सदरमुकाममा सीमितमा नराखी जिल्लाको विकट क्षेत्रमा समेत पु¥याउनुपर्ने बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहालले सो अवसरमा बताए । सो कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटाले सबै स्थानीय तहमा सङ्घले समन्वय समिति गठन गर्ने तयारी गरिरहेको बताए । उनले स्थानीय तहले राजस्व परामर्श समितिमा उद्योग वाणिज्य सङ्घको प्रतिनिधि रहने व्यवस्था रहेको भए पनि विगत पाँच वर्षमा नगरेकोतर्फ सो कार्यक्रममा ध्यानाकर्षण गराएका थिए । उक्त प्रावधान कार्यान्वयन नभएकाले उनले यस वर्षदेखि प्रतिनिधित्व गराउन आग्रह गरे । उनले जिल्लाको समद्धिका लागि नदीजन्य, खनिजजन्य, वनजन्य सामग्री उत्खनन् र बिक्री/वितरण व्यवस्थित रूपमा गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की, वरिष्ठ उपाध्यक्ष गीता अमात्य, महासचिव कृष्णप्रसाद अधिकारीलगायतले स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्ने वातावरण सिर्जना गरिदिन आग्रह गरे । कार्यक्रममा विदुर नगरपालिका-१ का वडाध्यक्ष लेनिन रञ्जित, नेपाल पत्रकार महासङ्घका अध्यक्ष कपिलदेव खनाललगायतले स्थानीय सरकार जनताको नजिक रहेको महसुस गराउन आवश्यक रहेको बताए ।