शिक्षा, स्वास्थ्यमा सुधार पूर्वाधार निर्माण गर्ने अध्यक्ष अर्यालको प्रतिबद्धता

  • त्रिशूली प्रवाह
  • २६ जेष्ठ २०७९, बिहीबार १४:३६

बेत्रावती, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्षमा निर्वाचित माधव अर्यालले शिक्षा, स्वास्थ्यमा सुधार र पूर्वाधार निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । उनी नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले शिक्षा, स्वास्थ्यमा सुधार र पूर्वाधार निर्माण गरी जनताको जीवनस्तरमा परिवर्तन ल्याउने बताए ।

गाउँपालिकाको आन्तरिक स्रोतको वृद्धिका लागि स्रोतको पहिचान गरी योजना बनाएर कार्यान्वयन गरी सुशासनको प्रत्याभूति दिई आधुनिक र प्रविधीमैत्री गाउँपालिका बनाउने उनले बताए । उनले उत्तरगया गाउँपालिकाभित्रका जनताको जीवनस्तर उकास्न कृषि, पशुपालन र पर्यटन तथा जडीबुटी र फलफूलखेतीको विस्तार र बजारीकरणमा योजनाबद्ध ढङ्गले काम गर्ने उल्लेख गरे । गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र वडा नम्बर-२ बाहेकका सबै वडा कार्यालय भवन निर्माणको काम अगाडि बढाउने उनको कार्ययोजना रहेको छ ।

गाउँपालिकाभित्र रहेको पर्यटकीय सम्भावना बोकेको उत्तरगयाधाम, घलेगढीलगायतका थुप्रै ठाउँको प्रचार-प्रसार एवम् यसको महत्वबारे जानकारी दिई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई स्थानीय धर्म, संस्कृति र रहन-सहनको समेत जगेर्ना गर्ने उनको योजना रहेको छ । यसअघि पनि उनी ०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा लहरेपौवा गाविसको अध्यक्षमा निर्वाचित, श्री नवविजयी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, कालिका गाउँपालिका-२ मा रहेको कालिका क्याम्पसको संस्थापक अध्यक्ष, ०६४ सालको संविधानसभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्यको उम्मेदवारसमेत थिए ।

०५२ सालमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला कार्यसमितिको सदस्य, ०५३ सालमा पार्टीको दक्षिण भेगीय इलाका समन्वय कमिटीको सदस्य, ०५५ सालमा भएको पार्टीको पहिलो जिल्ला अधिवेशनबाट जिल्ला कमिटीको सदस्यमा निर्विरोध निर्वाचित, युवा इन्चार्जको जिम्मेवारी साथै तत्कालीन प्ररायुसंघ नेपालको जिल्ला अध्यक्षको जिम्मेवारी उनले सम्हालिसकेका छन् । ०५८ मा भएको तत्कालीन प्ररायुसंघ नेपालको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीको सदस्यमा निर्विरोध निर्वाचित अर्यालले ०६६ सम्म केन्द्रीय सचिवालय सदस्यमा रहेर काम गरेका थिए । ०६८ बाट पार्टीको बागमती अञ्चल समन्वय कमिटीको सदस्य र पार्टीको सातौँ, आठौँ महाधिवेशनमा रसुवा जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा चयन भएर भाग लिएका थिए ।

काठमाडौंमा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट वैकल्पिक केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित साथै रसुवा जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गरी चितवनमा सम्पन्न दशौँ जिल्ला अधिवेशनबाट केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित अर्यालको अहिले पनि रसुवा जिल्ला इन्चार्जको जिम्मेवारी रहेको छ । बागमती प्रदेश सरकारको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी निर्वाह गरेका अर्याल गत ०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट उत्तरगया गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।