वडा कार्यालय भवन उद्घाटन

  • त्रिशूली प्रवाह
  • २६ जेष्ठ २०७९, बिहीबार १४:३८

थानसिंह, नुवाकोट जिल्लाको लिखु गाउँपालिकाको दुईवटा वडाको वडा कार्यालय भवनको उद्घाटन भएको छ ।

पालिकाको वडा नम्बर-५ र वडा नम्बर-३ मा निर्माण सम्पन्न भएको नयाँ भवनको उद्घाटन भएको हो । वडा नम्बर ५ को भवन ३८ लाख ९३ हजार र वडा नम्बर ३ को वडा कार्यालय भवन साबिक सूर्यमती गाविसको कार्यालय भवनलाई मर्मत गरी सेवा प्रवाह सुरु गरिएको हो । भवनको उद्घाटन गर्दै लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले आफू शासक नभई सेवक भएर काम गर्न आएकाले त्यसैअनुरूप कर्मचारीले पनि सहयोग गर्नुपर्ने बताए । उनले कसैको पहुँचको भरमा होइन आवश्यकतालाई मध्यनजर गरी बजेट विनियोजन गाउँपालिकाबाट हुने उल्लेख गरे । वडा तहबाट माग भई आएका योजनाको आवश्यकता र प्राथमिकताको आधारमा पालिकाले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार भए तापनि अहिले आफू साझा व्यक्ति भएकाले निर्वाचित जनप्रतिनिधिलाई राजनीति गर्न छुट नभएको बताए ।