नुवाकोटको २७, रसुवाको २८ र धादिङको २९ गते जिससको निर्वाचन

नुवाकोटको २७, रसुवाको २८ र धादिङको २९ गते जिससको निर्वाचन
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम नतिजाअनुसार कार्यपालिकाको निर्वाचन नुवाकोट, रसुवा र धादिङमा सम्पन्न भइसकेको छ । स्थानीय तह निर्वाचनपछि हुने जिल्ला समन्वय समितिको निर्वाचन नुवाकोटमा जेठ २७ गते, रसुवामा जेठ २८ गते र धादिङमा जेठ २९ गते हुने भएको छ । तीन जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचन कार्यक्रमको कार्यतालिका प्रकाशित गरेर प्रक्रिया अगाडि बढाएका छन् । यसपटकको समन्वय समितिमा जान इच्छा गरेकाको नाम हेर्दा राजनीतिमा भिजेका व्यक्ति नदेखिएकाले अब बन्ने समन्वय समिति नाम मात्रको बन्ने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले जेठ २७ गते जिल्ला समन्वय समितिको निर्वाचन गर्ने कार्यतालिका प्रकाशन गरेको छ । जेठ २४ गते मंगलबार मतदाता नामावली प्रकाशन गरेर निर्वाचन प्रक्रियाको सुरु गरेको थियो । जिल्लाको १२ वटा पालिकाका अध्यक्षमध्ये संविधानमा व्यवस्था भएअनुसार ज्येष्ठ सदस्यको अध्यक्षतामा सोमबार पहिलो जिल्ला सभाको बैठक बसेसँगै गठन प्रक्रिया सुरु भएको हो । नुवाकोटमा जिल्ला सभाका लागि २४ जना सदस्य रहेका छन् । १२ स्थानीय तहका प्रमुख र उपप्रमुख जिल्ला सभाको सदस्य रहने प्रावधान रहेको छ । जिल्ला सभाका सदस्यमध्ये ज्येष्ठ सदस्य सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेको अध्यक्षतामा बसेको पहिलो बैठकले १३ दिनभित्र निर्वाचन कार्यतालिकासहित जिल्ला समन्वय समितिको निर्वाचनको प्रक्रिया अगाडि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई अनुरोध गरेको थियो । पहिलो बैठकले जिल्ला समन्वय समितिमा बागमती प्रदेश, सङ्घ तथा अन्य स्रोतबाट प्राप्त बजेट तथा कार्यक्रम प्राथमिकीकरण तथा वर्गीकरण गरी कार्यान्वयन गर्न जिल्ला समन्वय समितिलाई अधिकार प्रदान गर्ने निर्णयसमेत गरेको थियो ।

स्थानीय तह, सङ्घ तथा प्रदेशबाट सञ्चालन भएका योजनाको तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न, गुणस्तर मापन तथा आवश्यक सहजीकरण गर्ने जिम्मेवारीसमेत जिल्ला समन्वय समिति नुवाकोटलाई अधिकार दिने निर्णय भएको जिल्लासभाका अध्यक्ष घलेले जानकारी दिऐ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र जिल्ला समन्वय समितिको पहिलो बैठक बसिसक्नुपर्ने प्रावधान संविधानमा उल्लेख छ । जेठ २७ गते शुक्रबार बिहान ११ बजेबाट समन्वय समितिको मतदान सुरु हुने कार्यतालिका रहेको छ । २७ गते हुने निर्वाचनले समन्वय प्रमुख एकजना, उपप्रमुख एकजना, महिला सदस्य तीनजना, दलित वा अल्पसङ्ख्यक सदस्यबाट एकजना र खुला सदस्यमा दुईजना गरी नौजना निर्वाचित हुनेछन् ।

समन्वय समिति गठबन्धन दल काङ्ग्रेस र माओवादीले मिलेर बनाउने भएका छन् । बुधबार दुई पार्टीले मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्रको भागमा प्रमुखसहित चारजना सदस्य र काङ्ग्रेसको भागमा उपप्रमुखसहित चारजना सदस्य परेको छ । माओवादीले भागमा परेको अध्यक्ष पदमा राजेन्द्रविक्रमसिंह ठकुरीलाई र सदस्यमा मोहन पुडासैनी, रामचन्द्र पौडेल र महिला सदस्यमा धनमाया विश्वकर्माको मनोनयन दर्ता गराएको छ । त्यसैगरी, काङ्ग्रेसको भागमा परेको उपप्रमुखमा दलबहादुर तामाङ र सदस्यमा राजेन्द्र श्रेष्ठ, महिला सदस्यमा सन्तोषी देवकोटा, सम्झना सेढाईं र दलित अल्पसङ्ख्यक सदस्यमा कान्छी सुनारको मनोनयन दर्ता भएको छ । शुक्रबार २७ गते समन्वय समितिका लागि निर्वाचन हुँदै छ । कुल २४ सदस्य रहेको जिल्ला समन्वय समितिको मतदातामध्ये नेकपा माओवादी केन्द्रको १२, नेपाली काङ्ग्रेसको ११ र नेकपा एमालेको एक सदस्य रहेका छन् ।

रसुवामा जिल्ला समन्वय समितिका लागि काङ्ग्रेस र एमालेले प्रमुख-उपप्रमुखसहित छुट्टा-छुट्टै टिम बनाएर बुधबार मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालय रसुवाले दिएको जानकारीअनुसार प्रमुखमा एमालेको अशोककुमार घिमिरे र नेपाली काङ्ग्रेसका ओमप्रसाद आचार्य, उपप्रमुखमा एमालेका विजय लामा र काङ्ग्रेसका हरिप्रसाद देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । रसुवामा १० सदस्य रहेको जिल्ला समन्वय समितिको मतदातामध्ये नेकपा एमालेको पाँच र नेपाली काङ्ग्रेसको पाँच सदस्य रहेका छन् । दुवै पार्टीको मत बराबर रहेकाले निर्वाचन जित्न एक सदस्य चोर्नुपर्छ । गोला तान्ने कि भागबन्डामा चित्त बुझाउनुपर्ने अवस्थामा दुवै दल रहेका छन् । तीन महिला सदस्य पदमा एमालेका सीता विक, अमिता विक, देसीरानी तामाङ र काङ्ग्रेसका निर्मला श्रेष्ठ, कारतोक लामा, सबिता गुरुङले बुधबार उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, तीन खुला सदस्य पदमा एमालेले कामी छिरिङ तामाङ, खुवाप्रसाद पौडेल, मेम्बरसिंह तामाङ र काङ्ग्रेसले खिलबहादुर न्यौपाने, विवराज न्यौपाने, शेरबहादुर ग्लान र दलित अल्पसङ्ख्यक एक पदमा काङ्ग्रेसले पार्वती विक, एमालेले लाक्पा घलेको उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।

त्यसैगरी, धादिङ जिल्लाको जिल्ला समन्वय समितिका लागि २६ सदस्य मतदाता रहेका छन् । जसमध्ये माओवादीका आठ, काङ्ग्रेसका १२, एकीकृत समाजवादीको चार र एमालेका दुई मतदाता रहेका छन् । २९ गते हुने समन्वय समिति निर्वाचनमा काङ्ग्रेसबाहेकको गठबन्धन हुने गरी कम्युनिस्ट पार्टीको बैठक भइरहेको छ । जिल्लामा समन्वय प्रमुखका लागि गतिला सम्भावित उम्मेदवार देखिएका छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह