पाँचदलीय गठबन्धन सरकारले बजेट नछुट्याउँदा टोखा-छहरे सुरुङमार्ग भाषणमा मात्रै

पाँचदलीय गठबन्धन सरकारले बजेट नछुट्याउँदा टोखा-छहरे सुरुङमार्ग भाषणमा मात्रै
त्रिशूली प्रवाह
३ साल अगाडी

आर्थिक वर्ष ०७९/८० को बजेटले नुवाकोटलाई उपेक्षा गरेको छ । विगतमा तीन आर्थिक वर्षदेखि सम्भाव्यता अध्ययनका लागि भनेर सरकारले काठमाडौंको टोखा-नुवाकोटको छहरे सुरुङमार्ग सर्भेको लागि छुट्याउँदै आएको बजेट वर्तमान शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धनको सरकारका अर्थमन्त्री जनार्दन शर्माले कटौती गरेका छन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता एवम् सांसदसमेत रहेका हितबहादुर तामाङले सरकारले टोखा–छहरे सुरुङमार्गका लागि बजेट विनियोजन नभएको, तर अर्थमन्त्रीको भाषणमा मात्रै आएको बताएका छन् । विगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारले उत्तरतिरको छिमेकी देश चीनसँगको व्यापारिक सम्झौतासँगै केरुङबाट त्रिशूली हुँदै काठमाडौं जोड्ने द्रुतमार्गको रूपमा सो मार्ग निर्माणका लागि बजेट छुट्याएर सर्भे सुरु गरेका थिए । विगत तीन आर्थिक वर्षदेखि नुवाकोटको बहुप्रतीक्षित छहरे–टोखा सुरुङमार्गका लागि बजेट छुट्याइएको भए पनि आगामी आर्थिक वर्ष ०७९/८० को बजेट भाषणमा मात्रै सीमित भएको छ । ‘रातो किताबमा बजेट छुट्टिएको छैन,’ मंगलबार नुवाकोट क्षेत्र नंं. १ का सांसद हितबहादुर तामाङले त्रिशूली प्रवाह साप्ताहिकसँग भने, ‘हामीले सुरुङलाई प्राथमिकता राखेर बजेट बनाउन आग्रह गरेका थियौँ ।’ त्यस्तै सरकारले गल्छी-रसुवागढी सडकखण्ड स्तरोन्नति गर्न झन्डै दुई अर्ब रुपैयाँ बजेट छुट्याएको छ । आर्थिक वर्ष ०७९/८० को बजेटमा अर्थमन्त्री जनार्दन शर्माले गल्छीदेखि रसुवागढीसम्मको सडकखण्ड स्तरोन्नति गर्न बजेट विनियोजन गरेका छन् । त्यस्तै, सरकारले गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडकको गल्छीदेखि स्याफ्रुबेँसी सडकखण्डको ६५ किलोमिटर दुई लेन कालोपत्रे गर्न र स्याफ्रुबेँसी-रसुवागढी १७ किलोमिटर स्तरोन्नति गर्न एक अर्ब ८५ करोड रुपैयाँ छुट्याएका छन् ।

०७९/८० का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि १६ वटा योजनामा बजेट छुट्याइएको छ । बजेट छुट्याइएको योजनामा गँगटे–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडकलाई पाँच करोड, सिन्धुरे खोला पुलका लागि ४७ लाख ५० हजार, तादी नदी पुल सिन्दुरे तादी संगमका लागि एक करोड, गाउँखर्क खोला पुलका लागि ३० लाख, छेपार खोला पुलका लागि ३० लाख, गुर्जे–छहरेखण्ड सडक स्तरोन्नतिका लागि ६ करोड, तीनपिप्ले–कुमरी–गल्छी वैकल्पिक सडकका लागि ५० लाख, काहुलेथाना–सानो चित्रे–ठूलो चित्रे–मानेखर्क–चाउथे सडकका लागि ५० लाख, रानीपौवा–चतुराले–मात्रागाउँ–महेन्द्र मावि सडकका लागि ५० लाख, मध्यपहाडी लोकमार्गबाट सिलामे–चिलौनेघ्याङ–टोड्के भञ्ज्याङ हुँदै आरुखर्क सडक पञ्चकन्या गाउँपालिका– ४ का लागि ५० लाख, पाटीभञ्ज्याङ–खोलेखर्क–मझुवा–कालो भञ्ज्याङ सडकका लागि ५० लाख, गँगटे–लब्धु–गोल्फुभञ्ज्याङ–पाटीभञ्ज्याङ सडकका लागि ५० लाख, छहरे–ठाँटीभञ्ज्याङ–कोडथोक–लाकुरेभञ्ज्याङ–घलेभञ्ज्याङ–आरुखर्क–मानेभञ्ज्याङ–सिन्धुपाल्चोक–मेलम्ची सडकका लागि एक करोड, शिवपुरी गाउँपालिका– ७ सुनखानी ढलान घर–स्याल्पिङ खोला–बरभञ्ज्याङ–शिवालय–पञ्चकन्या गाउँपालिका–३ घलेभञ्ज्याङ–कुलकुले–आरुखर्क–ठकुरीटोल हँुदै भ्याङ्ले–दुप्चेश्वर गाउँपालिका समुन्द्रटार सडकका लागि पाँच करोड, शिवपुरी गाउँपालिका– ७ ठानाभञ्ज्याङ–बरभञ्ज्याङ–शिवालय सडकका लागि २१ लाख ५४ हजार र दुप्चेश्वर गाउँपालिका भ्याङले मानेभञ्ज्याङ सडक स्तरोन्नतिका लागि २१ लाख ५४ हजार रहेको छ ।

त्यस्तै, नुवाकोट जिल्लाको क्षेत्र नं. २ मा आगामी आ.व. ०७९/८० का लागि नेपाल सरकारले विनियोजन गरेका भौतिक योजनाअन्तर्गत बजेट शीर्षक ३३७०११६९ मा ६ वटा र रणनीतिक सडक बजेट शीर्षक ३३७०११७६ मा एउटा, बजेट शीर्षक ३३७०२१०१ अन्तर्गत ६ वटा र पर्यटन संस्कृतिमा सातवटा योजनाका लागि बजेट छुट्याइएको छ । रणनीतिक सडकका लागि क्षेत्र नं. २ मा तीनपिप्ले–कुमरी–कोल्पुटार वैकल्पिक सडकका लागि ५० लाख, पिमलफाँट–माझीगाउँ–अर्घले सडकका लागि ५० लाख, विनपा डाँडागाउँ–डडरेखोला सडकका लागि ५० लाख, म्यागङ गाउँपालिका-५ तिदुफेदी–सुन्दरादेवी हुँदै नेत्रावती–सेमजोङ जोड्ने सडकका लागि ५० लाख, सुनाखेती–पिँडालुबारी पारिजात स्कुल भैरमकोट सडकका लागि पाँच लाख र जलजले–चनौटे–पञ्चासे खोला–तीन दोभान–बडरे–समखुरे–चेपिन्डे खोला हुँदै कोल्पुटारसम्मको पिचका लागि एक करोड बजेट छुट्याएको छ । त्यस्तै, रणनीतिक योजनाको प्लासटर–भैरमकोट–देउराली–म्यागङ–किम्ताङ सडकका लागि पाँच करोड बजेट छुट्याएको छ । सरकारले आगामी वर्षका लागि बजेट शीर्षक ३३७०२१०१ अन्तर्गत मनकामना–फिकुरी–काहुले–भाल्चे सडकका लागि २१ लाख ५४ हजार, सामरी खोला पुल स्वास्थ्यचौकी सडकका लागि २१ लाख ४५ हजार, शान्तिबजार–लमङ–आलडाँडा फिकुरी हुँदै गोंगाभञ्ज्याङ सडकका लागि २१ लाख ५४ हजार, तारुकाघाट–काहुले धादिङ स्तरोन्नति कालोपत्रे गर्नका लागि २७ लाख, पासाङल्हामुमार्ग पुरानो ३४ किलो ओख्ले–सेरा–कुमारी सडकका लागि १८ लाख र शान्तिबजार–गोगने–ताजी–गुँगाभञ्ज्याङ–सिङ्ला हुँदै रुविभ्याली सडकका लागि ५७ लाख बजेट छुट्याएको छ ।

त्यसैगरी, क्षेत्र नं. २ को पुरातत्व विभागका निरन्तर कार्यक्रम कायमै राखेर त्यसदेखि बाहेकका कार्यक्रमका लागि बेलकोटगढी संरक्षणलाई २० लाख, तारुका शिवालय मन्दिर परिसरको जीर्ण सत्तल संरक्षण कार्य तारकेश्वर गाउँपालिकालाई ३५ लाख, रणभुवनेश्वर महादेव मन्दिर जीर्णोद्वार विनपा– ३ का लागि २० लाख, सुन्दरा कन्यादेवी मन्दिर बेलकोटगढी नगरपालिकाका लागि पाँच लाख २५ हजार, साङ्गे छोलिङ गुम्बा बेलकोटगढी नगरपालिकाका लागि पाँच लाख ७५ हजार र सिंहदेवी मन्दिर बेलकोटगढी नगरपालिकाका लागि ६ लाख बजेट छुट्याएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह