दाङसिङ, नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाले २४सै घण्टा निःशुल्क हटलाइन टोल फ्री टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ ।
गाउँपालिका कार्यालय दाङसिङमा अध्यक्ष शिव अधिकारीले सेवा केन्द्रको उद्घाटन गरेका हुन् । गाउँ कार्यपालिकाको पहिलो बैठकले सेवा केन्द्र सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । सल्लाह, सुझाव र जुनसुकै गुनासोलाई २४सै घण्टा फोन गरेर टिपाउन सक्ने गरी व्यवस्था मिलाइएको छ ।
नागरिकबाट आएका गुनासोलाई सम्बोधन गरिने र सकारात्मक सल्लाह, सुझावलाई कार्यान्वयन गर्दै जाने अध्यक्ष अधिकारीले बताए । यो सेवाले नागरिक र जनप्रतिनिधिबीचको संवादलाई अझ सहज बनाइए नागरिकको हितमा काम गर्न ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । बर्खायाम पनि सुरु भएको र आगामी वर्षको बजेट निर्माणको तयारीसमेत सुरु भएकाले यो सेवा सञ्चालनमा ल्याएको उनले जानकारी दिए । नुवाकोटको तारकेश्वर गाउँपालिकाको कार्यपालिका बैठकले अवैध रूपमा सञ्चालनमा रहेका क्रसर तथा बालुवा खानी तत्काल बन्द गर्ने निर्णय गरेको छ । कार्यपालिकाको बैठकले सर्वसम्मत रूपमा अवैध क्रसर र बालुवा खानी बन्द गर्ने निर्णय गर्दै सम्बन्धित निकायलाई पत्राचार गरिसकेको भन्दै अध्यक्ष शिव अधिकारीले भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेका छन् । उक्त बैठकले क्रसर र बालुवा खानीसम्बन्धी कार्यविधि बनाउन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीलाई जिम्मेवारी दिएको छ । प्रशासकीय अधिकृत नेतृत्वको समितिले कार्यविधिअनुसार आगामी दिनमा कुन प्रयोजनका लागि कसरी खोल्ने वा सदाका लागि बन्द गर्ने भन्नेबारे कार्यपालिकाले निर्णय गर्ने जनाएको छ ।
निजी गाडी प्रयोगबारे पनि अध्यक्ष अधिकारी आफूले सरकारी गाडी नै प्रयोग गरिरहेको र भाडाको गाडी आफ्नो नभई गाउँपालिकाको कामका लागि आवश्यक रहेकाले गाउँपालिकाले नै निर्णय गरेर लिएको पनि प्रस्ट पारे । वडासदस्यको सवारीसाधन गाउँपालिकाले दैनिक पाँच हजार रुपैयाँ भाडा तिर्ने गरी अध्यक्षले लिएको भन्दै भ्रमपूर्ण समाचार आएकाले त्यो विषय आफूसँग सम्बन्धित नरहेकोसमेत अध्यक्ष अधिकारीले बताए ।




प्रतिक्रिया