त्रिशूलीबजारमा पक्की पुलको शिलान्यास

  • त्रिशूली प्रवाह
  • २ असार २०७९, बिहीबार १२:४६
  • सुनील श्रेष्ठ

विदुर, नुवाकोट जिल्लाको विदुर नगरपालिका-१ धोबीखोलास्थित त्रिशूली र ढुङ्गे जोड्ने त्रिशूली खोलामा निर्माण हुने पक्की पुलको शिलान्यास भएको छ ।

त्रिशूली खोलामा निर्माण हुन लागेको पक्की पुलको विदुर नगरपालिका-१ का अध्यक्ष लेनिन रञ्जितले जेठ २४ गते शिलान्यास गरेका हुन् । वडाध्यक्ष रञ्जितले नगरको विकासका लागि सडक, बिजुली अति आवश्यक रहेको भन्दै वडामा निर्माण हुन लागिएको चक्रपथको अवधारणाअनुसार काम गरिने बताए । उनले तत्कालीन पश्चिम क्षेत्र नम्बर-१ को प्रमुख नाकाको रूपमा रहेको साँघुबजार अहिलेको त्रिशूलीबजारको खस्किएको व्यापारलाई प्रवद्र्धन गर्न नयाँ पुलको निर्माणले टेवा पुग्ने बताए । ‘२०१७ सालमा निर्मित त्रिशूली पुल जीर्ण हुँदै गइरहेको छ, सहरी विकाससँगै साँघुरो पनि हुँदै गइरहेको र पिक टाइममा ट्राफिक जामको समस्या झेल्नु परिरहेको अवस्था छ,’ उनले भने, ‘पुल निर्माण भएपछि नयाँ र पुरानो पुलमा एकतर्फी नियम लागू गरी ट्राफिक व्यवस्थापन गरिनेछ । जसले गर्दा त्यहाँका व्यापार प्रवद्र्धनमा टेवा पुग्नुको साथै बिरामीलाई त्रिशूली अस्पतालसम्म पुग्न पनि सहज हुनेछ ।’

नेपाल सरकारको नीतिअनुसार ११ मिटरभन्दा सानो बनाउन नमिल्ने र हाल पुल रहेको सोही स्थानमा नयाँ पुल बनाउँदा क्षति धेरै हुने भएकाले धोबीखोलामा पुल निर्माण हुन लागेको उनले बताए । सांसद नारायणप्रसाद खतिवडा र विदुर नगरपालिकाका तत्कालीन मेयर सञ्जु पण्डितको पहलमा बागमती प्रदेश सरकारबाट विनियोजित बजेटबाट पुल निर्माण हुन लागेको जानकारी उनले दिए । हिमडुङ एन्ड थोकर गणेशकुण्ड कम्पनीले ठेक्का पाएको उक्त पुल आरसिसी बक्स ग्रिडर प्रिस्ट्रेसमा निर्माण हुनेछ । कुल लागत भ्याटसहित आठ करोड रुपैयाँमा निर्माण हुने पुलको ६० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहने छ । दायाँबायाँ एक मिटर ७५ सेन्टिमिटर फुटपाथ रहने पुलको आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण कम्पनीका राजेन्द्र थपलियाले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।