हुक्का, सिसा सेवनको भ्रम र वास्तविकता ?

  • त्रिशूली प्रवाह
  • २ असार २०७९, बिहीबार १३:२०
  • डा. सरोज श्रेष्ठ

विदुर, नुवाकोट, रसुवा र धादिङ जिल्लामा हुक्का सेवन गर्ने युवायुवतीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । युवायुवतीको अत्यन्त्यै लोकप्रिय बन्दै छ हुक्का सेवन । चुरोटभन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का पाइनुका कारण युवापुस्ता यसप्रति आकर्षित हुँदै गएको छ । युवापिँढी नपत्याउँदो पाराले हुक्का सेवन गर्न लालायित देखिन्छ ।

आजभोलि त झन रेस्टुरेन्ट एन्ड बार गएपछि हुक्का सेवन गर्दै सामाजिक सञ्जालमा तस्बिर राख्नुलाई गर्व गर्नेको सङ्ख्या ठूलै छ, जसले बालबालिकाको सोचाइमा असर गर्दछ । कतिपय समाजमा त झन् हुक्का सेवनलाई प्रोत्साहन गरिन्छ । तर, यथार्थ फरक छ । एकपटक हुक्का सेवन गर्नु भनेको १० देखि १५ वटा चुरोटको खिली सेवन गर्नुजस्तै हो । एक घण्टा हुक्का सेवन गर्दा एक सयदेखि दुई सयवटा चुरोट सेवन गर्नुबराबर हुन्छ । हुक्कामा निकोटिन, भारी धातु, कार्बन मोनोअक्साइड, कारसिनोजेनको मात्रा बढी हुन्छ, जसले स्वास्थ्यमा गम्भीर असर गर्दछ । अत्यधिक हुक्का सेवनले सङ्क्रमणको सम्भावना बढ्नुका साथै फोक्सोसम्बन्धी रोग, विविध मुख, अन्ननली, फोक्सो, मूत्रथैली, स्तन, पाठेघरको क्यान्सर र मुटुसम्बन्धी रोग गराउँछ । धूम्रपान गर्ने व्यक्तिमा अकाल मृत्यु हुने सम्भावना धूम्रपान नगर्ने व्यक्तिभन्दा दुईदेखि तीन गुना बढी हुन्छ । निष्क्रिय धूम्रपान (एबककष्खभ क्mयपष्लन) गर्ने व्यक्तिमा मुटुसम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने उच्च जोखिम रहन्छ ।

धूम्रपानको असर :
– विभिन्न क्यान्सर, फोक्सो, मुटुसम्बन्धी रोग, निकोटिन निर्भरता, मनोवैज्ञानिक असर, उच्च रक्तचाप, मधुमेह, एथेरोस्क्लेरोसिस, क्षयरोग
– शुक्राणुको सङ्ख्या, गुणस्तर घट्नु, पुरुष बाँझोपन
– वातावरण प्रदूषण
– गर्भावस्थामा धूम्रपान गर्दा समयपूर्व बच्चा जन्मनुका साथै नवजात शिशुको मृत्यु हुने जोखिम

धूम्रपान त्याग्ने उपाय :
– धूम्रपानको तलतल लाग्दा पानी पिउने
– स्वस्थ खानपान साथै दैनिक शारीरिक व्यायाम गर्ने
– मदिरापान त्याग्ने
– पर्याप्त ६ देखि ८ घण्टा सुत्ने
– स्वास्थ्यविज्ञबाट सल्लाह र सुझाव लिने

(डा. सरोज श्रेष्ठ जिल्ला अस्पताल नुवाकोटमा कार्यरत हुनुहुन्छ ।)