वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • त्रिशूली प्रवाह
  • २ असार २०७९, बिहीबार १३:३१

विदुर, बागमती प्रदेश युवा परिषद्को आयोजनामा युवा प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत वक्तृत्वकला प्रतियोगिता नुवाकोटको विदुरमा गत बुधबार सम्पन्न भएको छ ।

‘सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धन : बागमतीमा युवा सशक्तीकरण’ विषयक शीर्षकको वक्तृत्वकला प्रतियोगितामा नुवाकोट जिल्लाको आठ र रसुवा जिल्लाका चारजना युवा-युवतीको सहभागिता रहेको थियो । १६-२४ उमेर समूहको खुला वक्तृत्वकला प्रतियोगितामा नुवाकोटबाट बेलकोटगढी नगरपालिकाकी विविना लामिछाने र रामेश्वर गजुरेल तथा रसुवा जिल्लाका कालिका गाउँपालिकाकी कृतिका पौडेल र नौकुण्ड गाउँपालिकाका दावाछिरिङ लामा प्रथम भएका छन् । विजेतालाई जनही नगद तीन-तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । विजेताले आगामी असार ४ गते हेटौँडामा आयोजना गरिने प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागिता गराउने जिल्ला युवा समिति नुवाकोटका अध्यक्ष उद्धव पनेरूले जानकारी दिए । सो कार्यक्रममा बागमती प्रदेश युवा परिषद् कार्यालयका प्रमुख रमेश घिमिरे, जिल्ला शिक्षा समन्वय कार्यालयका प्रतिनिधि, विभिन्न विद्यालयका प्रतिनिधि तथा शिक्षकलगायतको उपस्थिति रहेको थियो । बागमती प्रदेश युवा परिषद् स्थापना दिवसका अवसरमा बुधबारै नुवाकोटको देवीघाटस्थित वृद्धाश्रममा रहेका वृद्धवृद्धाको दीर्घजीवनको कामना गर्दै नुवाकोट युवा परिषद्का अध्यक्ष उद्धव पनेरू नेतृत्वको टोलीले फलफूल वितरण गरेको हो ।