आँखाको निःशुल्क उपचार शिविर

  • त्रिशूली प्रवाह
  • २ असार २०७९, बिहीबार १३:३९

धुन्चे, सुविधासम्पन्न तरिकाले आँखाको निःशुल्क उपचार स्थानीयस्तरमै पाएपछि स्थानीयवासी खुसीले दङ्ग भएका छन् ।

तिलगंगा आँखा केन्द्र काठमाडौं, सामुदायिक आँखा केन्द्र एवम् रेडक्रस रसुवाले गत हप्ता सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर दक्षिणी रसुवाको कालिकास्थानमा सम्पन्न भएको छ । शिविरमा मोतियाबिन्दु भएका ५८ जनाको निःशुल्क शल्यक्रिया भएको छ । गाउँमै शिविर सञ्चालन हुँदा ग्रामीण बासिन्दा खुसीले हर्षविभोर भएका छन् । आँखाको शल्यक्रिया गर्न काठमाडौं जान पर्ने सबैसँग पैसा नहुने, पैसा नहुनेले रोग पालेर बस्नुपर्ने बाध्यतालाई सहज बनाउन शिविर सञ्चालनमा ल्याइएको रेडक्रसका सभापति बाबुलाल तामाङले बताए । रसुवाको पाँच गाउँपालिकाका आममानिसले शल्यक्रियाको सुविधा पाएका छन् भने शिविरबाट एकजनाको आँखामा मासु पलाएको समस्यालाई शल्यक्रिया गरिएको थियो । शिविरलाई सहज बनाउन कालिका गाउँपालिका २ नम्बर वडालगायत कालिका युवा क्लबले सहयोग गरेको सभापति तामाङले बताए ।