रक्षा संवाददाता प्रशिक्षण

  • त्रिशूली प्रवाह
  • २ असार २०७९, बिहीबार १३:४९

विदुर, नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयको आयोजनामा मध्यकमान्ड हेडक्वार्टरअन्तर्गत पोखराले स्थानीय पत्रकार तथा सञ्चारकर्मीका लागि सञ्चालन गरेको ‘रक्षा संवाददाता अभिमुखीकरण प्रशिक्षण (डिसिओपी)’ शुक्रबार सम्पन्न भएको छ ।

नुवाकोट र रसुवा जिल्लासहित ३१ जिल्लाका २५ जना पत्रकार सहभागी तालिम एक हप्तासम्म सञ्चालन भएको थियो । सो प्रशिक्षणमा सेनाको मध्यकमान्डअन्तर्गतका विभिन्न ३१ जिल्लाका २५ जना पत्रकारको सहभागिता रहेको थियो । विजयपुर ब्यारेक पोखराबाट सुरु भएको प्रशिक्षण २२ नम्बर बाहिनी अड्डा योगीकुटी बुटवलमा पुगेर सम्पन्न भएको थियो । सेनाले पोखरामा आन्तरिक प्रशिक्षणपछि स्थलगत भ्रमणका क्रममा तनहुँ हाइड्रोपावर, पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, पाल्पा दरबार, निशान भगवती, कालभैरव, रानीमहल, लुम्बिनी र जितगढीलगायतका स्थानमा अवलोकन गराएको थियो । सो अवसरमा सेनाले नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले प्रयोग गरेका सामग्री, नेपाल-अङ्ग्रेज युद्धको बेलामा नेपालका विभिन्न ठाउँमा भएका आक्रमणबारे जानकारी दिएको थियो । त्यस्तै, राष्ट्रिय सुरक्षा नीति, सूचनाको हक, कम्ब्याट फोर्स, शान्ति स्थापनामा सेनाको भूमिका, सैनिक कल्याणकारी कोष, भौतिक पूर्वाधार निर्माणमा सेनाको भूमिका, विपत् व्यवस्थापन र पत्रकार आचारसंहिताका विषयमा प्रशिक्षण दिइएको थियो । मध्यकमान्ड हेडक्वार्टरका उपरथी बाबुराम श्रेष्ठले राष्ट्र, राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकताका लागि सेना सधैँ लागिपरेको बताए । बाहिनीपति एवम् सहायकरथी नवराज गुरुङले प्रशिक्षणबाट सञ्चारकर्मी र सेनाबीचको सम्बन्ध झनै मजबुत बन्ने विश्वास व्यक्त गरे ।