ई-टिडिएससम्बन्धी अभिमुखीकरण

  • त्रिशूली प्रवाह
  • ९ असार २०७९, बिहीबार ११:५७


विदुर, आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय गल्छीको आयोजनामा एकदिने करसम्बन्धी तालिम सम्पन भएको छ ।

नुवाकोट उद्योग वाणिज्य सङ्घ र विदुर कर परामर्श सेवाको समन्वयमा शनिबार विदुर र त्रिशूलीमा भएको अभिमुखीकरण कार्यक्रममा आर्थिक विधेयक, २०७९ ले गरेका करसम्बन्धी छुट तथा सुविधा र ई-टिडिएससम्बन्धी जानकारी गराइएको कार्यालयका निमित्त प्रमुख प्रेमकुमार श्रेष्ठले बताए । दुवै तालिममा एक सय नौजनाको सहभागिता रहेको श्रेष्ठले जानकारी दिए । कार्यक्रममा आर्थिक विधेयक, २०७९ ले गरेका करसम्बन्धी छुट तथा सुविधा विषयक करदाता शिक्षा दिइएको छ । तालिममा निमित्त प्रमुख श्रेष्ठ र विदुर कर परामर्श सेवाका निर्देशक दिनेशकुमार श्रेष्ठले सहजीकरण गरेका थिए । तालिममा सरकारी तथा निजी कलेज, विद्यालय, सङ्घ-संस्था, सहकारी, वित्तीय संस्था, व्यवसायी फर्मलगायतका सञ्चालक तथा कर्मचारीको सहभागिता रहेको थियो ।

विभागले ई-टिडिएससम्बन्धी प्रणाली परिवर्तन गरेपछि कर कार्यालय धाएर ई-टिडिएस गर्नुपर्ने झन्झट हटाएर आफैँले ई-टिडिएस गर्न सक्ने व्यवस्था मिलाएको हो । अहिले भुक्तानी दिने फर्म, सङ्घ-संस्था, विद्यालय, सहकारी, सरकारी निकायलगायत सबैले ई-टिडिएस अनिवार्य गर्नुपर्ने भएको र कुनै पनि व्यक्ति, फर्म, निकायले आफ्नो आय-विवरण पेस गर्दा पहिलेजस्तो सम्बन्धित निकायले दिएको लेटर र भौचरको आधारमा दाबी गर्न नमिल्ने व्यवस्था भएकोले ई-टिडिएस तालिम दिइएको श्रेष्ठले बताए ।