छहरे-राष्ट्रिय मावि सडकको कालोपत्रे सुरु

  • त्रिशूली प्रवाह
  • ९ असार २०७९, बिहीबार १३:२९

कविलास, नुवाकोटको पञ्चकन्या गाउँपालिकाको केन्द्र लाँकुरीभञ्ज्याङ-घलेभन्ज्याङ जोडिएको छहरे-राष्ट्रिय मावि सडक धमाधम कालोपत्रे हुन थालेको छ ।

बागमती प्रदेश र पञ्चकन्या गाउँपालिकाबाट आर्थिक वर्ष ०७८/७९ मा विनियोजित रकमबाट पञ्चकन्या-२ मा पर्ने छहरे पुलदेखि गणेशस्थान मन्दिर खण्डमा कालोपत्रेको काम जेठ अन्तिम हप्तादेखि जारी रहेको इन्जिनियर उज्ज्वल न्यौपानेले जनकारी दिए । उनका अनुसार साढे २ किलोमिटरको उक्त सडकखण्ड पिचको काम मौसमले साथ दिएमा केही दिनभित्रै सकिनेछ । स्थानीय तह निर्वाचनलगायत कारणले पिचको काम ढिला सुरु गर्नुपरेकाले पानीबाट प्रभावित हुने गरेको छ । आ.व. ०७८/७९ मा प्रदेश सरकारबाट ९९ लाख ९८ हजार र गाउँपालिकाको ९९ लाख ९८ हजार नै बजेट परेको थियो । जसमा गाउँपालिकाले दुई करोड चार लाखमा टेन्डर आह्वान गरेको थियो । जसमा काष्ठमण्डप निर्माण सेवा बल्खुले ढलान, नाली, बेस र कालोपत्रेका लागि एक करोड ८७ लाख रुपैयाँमा ठेक्का पारेको इन्जिनियर न्यौपाने बताए । यस खण्ड निर्माण सम्झौता असार तेस्रो हप्ता सकिनेछ ।