घरमै नागरिकता

  • त्रिशूली प्रवाह
  • ९ असार २०७९, बिहीबार १३:३५

विदुर, अपाङ्गता भएर नागरिकता पाउन नसकेका स्थानीयलाई नुवाकोट जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता वितरण गरेको छ ।
सदरमुकाम विदुरदेखि करिब १८ किलोमिटर टाढा तारकेश्वर गाउँपालिका-३ हटियाका २५ वर्षीय भवनाथ ढकाल र ५९ वर्षीया लक्ष्मी श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुरेश श्रेष्ठ र अप्सरा पोखरेलले घरमै गई गत हप्ता नागरिकता प्रदान गरेका हुन् । अपाङ्गता भएका उनीहरू नागरिकता नहुँदा राज्यबाट पाउने सुविधाबाट वञ्चित थिए ।

भवनाथ आजीवन अपाङ्ग हुन् भने लक्ष्मी दुई वर्षदेखि ओछ्यानमा परेकी हुन् । ढकाल बोल्न र हिँडडुल गर्न पनि सक्दैनन्  दिसा-पिसाबलगायत सबै नित्यकर्म परिवारकै भरमा हुने गरेको बुबा कृष्णलालले बताए । जन्मेदेखि नै उनको अवस्था उस्तै रहेको छ । उपचार गराउँदा सुस्त मनस्थिति भएको र हातगोडाले काम गर्दैन भनिएको बुबा कृष्णलालले बताए । खाना खुवाउनेदेखि नुवाई-धुवाईलगायत सबै काम घरका मान्छेले गर्नुपर्छ । उनीहरू दुवैलाई नागरिकता दिलाउन दुई वर्षदेखि गरेको प्रयास बल्ल सफल भएको वडाध्यक्ष सूर्यमान श्रेष्ठले बताए । अपाङ्गता भएकालाई बोकाएर विदुरबाट नागरिकता दिलाउन सक्ने अवस्था नभएपछि ताकेता गरेर नागरिकता पाएका हुन् । तारकेश्वर गाउँपालिका-३ मा ४१ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । कार्यालयसम्म आउन नसक्ने राज्यबाट पाउने सुविधाबाट वञ्चित नहोउन् भनेर घरदैलोमै सेवा दिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।