– केन्द्रीय कारागार निर्माण सुस्त – ६ वर्षमा भौतिक प्रगति ८८ प्रतिशत

त्रिशूली प्रवाह
३ साल अगाडी

सरकारले राजधानी काठमाडौंमा रहेको जगन्नाथ देवल कारागार र ललितपुरको नख्खु कारागार सार्ने उद्देश्यले निर्माण थालेको केन्द्रीय कारागार निर्माण सुस्त गतिमा अघि बढिरहेको छ । नुवाकोटको विदुर नगरपालिका-६ को खम्पाक्याम्प (विगतको तिब्बती शरणार्थी क्याम्प) को सात सय रोपनी जग्गामा खुल्ला कारागारको अवधारणाअनुसार केन्द्रीय कारागार निर्माण सुरु गरेको हो ।

तिब्बती शरणर्थीले छाडेर गएको खम्पाक्याम्पको जग्गामा तारबारको काम आठ वर्षअघि नै गरेर कारागार भवनसहितको अन्य पूर्वाधार निर्माण कार्यको थालनी भएको थियो । कारागार सुधार कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले नुवाकोट केन्द्रीय कारागार भवन निर्माणको लागि फेज नं. २ का लागि ठेक्का लगाएको थियो । २०७३ असोज ३० गते निर्माण व्यवसायी लामा÷रमण जेभी जनकपुर धनुषाले पाँच वर्षभित्र सम्पन्न गर्ने सम्झौता गरेको थियो । सुरुदेखि नै निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै निर्माण कार्य ढिला गर्दै आइरहेको थियो । निर्माणका लागि मूल्य अभिवृद्धि करबाहेक ४१ करोड ५९ लाख ५४ हजार सात सय २१ रुपैयाँमा सम्झौता गरेको निर्माण व्यवसायीले हालसम्म मूल्य अभिवृद्धि करबाहेक २८ करोड २२ लाख ७४ हजार दुई सय ९४ रुपैयाँ भुक्तानी लिइसकेको छ । आयोजना कार्यालय धादिङले दिएको जानकारीअनुसार हालसम्म वित्तीय प्रगति ६८ प्रतिशत र भौतिक प्रगति ८८ प्रतिशत रहेको छ । जम्मा ३० वटा ब्लक (भवन) निर्माण कारागारभित्र बन्नेछन् । १० वटा ब्लक कैदीबन्दीको आवास, पाँचवटामा वर्कसप, पाँचवटामा शौचालय, पाँचवटामा क्यान्टिन र भान्सा, १० वटा कारागारका सुरक्षाकर्मीका लागि र एउटा ब्लक महिलाका लागि छुट्याइएको छ ।

केन्द्रीय कारागारको भवन निर्माण सम्पन्न गरेर गत ०७८ माघ मसान्तभित्रै कैदीबन्दी राख्ने सरकारको योजना भए पनि कोरोना सङ्क्रमणको कारण ढिला भएको आयोजना प्रमुख सुनीलकुमार ठाकुरले जानकारी दिए । ठेकेदारलाई ०७९ असोजको पहिलो हप्ताभित्र भवन सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ । निर्माण कार्यस्थलमा ठेकेदारले निर्वाचनमा डेढ महिना काम रोकेको थियो भने अहिले वर्षात्ले गर्दा पूर्ण रूपले काम गराउन सकेको छैन । सरकारले सात सय रोपनी जग्गा केन्द्रीय कारागारका लागि हस्तान्तरण गरेको भए पनि पाँच सय ४० रोपनी क्षेत्रफलमा कारागारका लागि भौतिक पूर्वाधार निर्माण गरी तारबार लगाइएको छ ।

सहरी विकास विभाग, कारागार विभाग र सुरक्षा निकायबीच विगतमा समन्वय हुन नसक्दा निर्माण कार्य ढिला भएको थियो । गत वर्ष सहरी विकास विभाग, कारागार विभाग र सुरक्षा निकायबीच छलफल भई निर्माणाधीन कारागारका लागि आवश्यक सहयोग र समन्वय गर्ने सहमति भएपछि निर्माणकार्यले गति लिएको हो । खम्पाक्याम्प कारागारमा झन्डै सात हजार कैदीबन्दी राख्ने क्षमताको संरचना निर्माण भइरहेको छ । नवनिर्मित कारागार कालकोठरीजस्तो नभई सीप विकास केन्द्र, हस्तकला उत्पादन कारखाना र असल नागरिक बनेर पुनः समाजमा फर्किने वातावरणमैत्री ढङ्गले निर्माण गरिएको छ । अस्पताल, पुस्तकालय, व्यायामशाला, योगशाला, ध्यान केन्द्र, सीप तालिम केन्द्र र हस्तकला बिक्री–वितरणलगायत विभिन्न कक्षसहितका सुविधा उक्त कारागारमा रहनेछ । निर्माणाधीन कारागारमा अपाङ्ग तथा ज्येष्ठ नागरिकमैत्री, अपराधको प्रकृतिअनुसार छुट्टाछुट्टै भवन र प्रजनन अधिकारबाट वञ्चित दम्पती कैदीबन्दीको अधिकारलाई समेत सुनिश्चित गरी आवास कक्ष निर्माण गरिएको छ । ठेकेदार कम्पनीलाई भवन निर्माणमा नुवाकोट जिल्ला प्रशासन कार्यालयले सहयोग गर्ने समन्वय गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह