– सरस्वती न्यौपाने
धुन्चे, रसुवा जिल्लाभित्रका चालू राजमार्ग र सहायक राजमार्ग बाढी-पहिरोले अवरुद्ध भए, सडक खुलाउने जिम्मा गाउँपालिका र जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनालाई दिइएको छ । प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्लामा सञ्चालित जलविद्युत् आयोजना, सडक आयोजना, डिभिजन सडकका प्रमुख÷प्रतिनिधि र जिल्लाका पाँचवटा पालिकाका प्रमुख-प्रतिनिधिको उपस्थितिमा भएको समन्वयात्मक बैठकले वर्षात्को समयमा सडक सुचारु गराउनेबारे मंगलबार छलफल गरी उक्त निर्णय गरेको हो ।
निर्णयअनुसार बेत्रावती, मैलुङ, बाह्रघुम्ती सडकखण्डमा गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना र माथिल्लो त्रिशूली– १ (२१६ मेगावाट) जलविद्युत् आयोजनाले पहिरो पन्छाई सुचारु गर्ने जिम्मा रहेको छ । बेत्रावती–कालिका–राम्चे–ठाडे–धुन्चे सडकखण्डमा डिभिजन सडक कार्यालय नुवाकोट र कालिका गाउँपालिकाले गर्नेछन् । त्यसैगरी, धुन्चे–स्याफ्रुबेँसी सडकखण्डमा डिभिजन सडक कार्यालय नुवाकोट र लाङटाङ खोला जलविद्युत् आयोजनाले गर्ने, स्याफ्रुबेँसी–कुलुङ पुलसम्मको सडकखण्डमा गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना र साङजेन जलविद्युत् आयोजनाको जिम्मा रहेको छ । कुलुङपुल–रसुवागढी सडकखण्डमा गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना र रसुवागढी जलविद्युत् आयोजना र बेत्रावती–भोर्ले, पारच्याङ–यार्सा सडकखण्डमा पूर्वाधार विकास कार्यालय नुवाकोट र नौकुण्ड गाउँपालिका, स्याफ्रुबेँसी–थाम्बुचेत–गत्लाङ सडकखण्डमा आमाछोदिङ्मो गाउँपालिका र लाङटाङ भोटेकोसी जलविद्युत् आयोजना, रुङ्गा–पाजुङ–तातोपानी सडकखण्डमा आमाछोदिङ्मो गाउँपालिका र साङजेन खोला (सालासुङी) जलविद्युत् आयोजनाले सडकखण्ड सम्बन्धित निकायको सहयोग र समन्वयमा सुचारु गर्ने सहमति भएको छ । जिल्लामा शान्तिसुरक्षा, सडक सुचारु गरी यातायात दैनिक सञ्चालनमा ल्याई सहज र सरल वातावरण रहने प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।
प्रतिक्रिया