धादिङमा गे्रनाइटको खोजतलास

  • त्रिशूली प्रवाह
  • १७ असार २०७९, शुक्रबार १२:३९
  • राजेन्द्र बस्नेत

गजुरी, धादिङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने गजुरी गाउँपालिका ७ र ८ को किराञ्चोकमा अहिले ग्रेनाइटको चर्चा बढेको छ । गजुरीको वडा नम्बर ७ र ८ को सीमावर्ती क्षेत्रमा रहेको हलो झुन्डेको पहरो अर्थात् सातपत्रेको वन आसपास एकजना भूगर्भविद् र अर्का एकजना सर्भे–इन्जिनियर बिहानदेखि बेलुकासम्म गे्रनाइटको सम्भाव्यता अध्ययनमा दिनरात नभनी तल्लीन छन् ।

महाभारत शृृङ्खलाको यो मध्यपहाडमा ग्रेनाइटको अध्ययन, अनुसन्धान गर्न अनुमति काठमाडांै महानगरपालिका– ५ का ज्ञानेन्द्रप्रसाद प्रधान र सोही वडा बस्ने नरेन्द्रप्रसाद प्रधानले पाएका छन् । उनीहरूले अध्ययन–अनुसन्धान (खोजतलास)का लागि लिएको इजाजतको म्याद सकिन डेढ महिना मात्र बाँकी छँदा खोजतलास कार्य सुरु गरेका छन् । खानी तथा भू–गर्भ विभागका रूपक खड्का र महानिर्देशक रामप्रसाद घिमिरेले ०७७ असार ३० गते ज्ञानेन्द्रप्रसाद प्रधानको नाममा जारी गरेको खोजतलास कार्यको अनुमतिपत्र नं. १३३ र नरेन्द्रप्रसाद प्रधानको नाममा जारी खोजतलास कार्यको अनुमतिपत्र १३२ रहेको छ ।

फिल्ड खटिएका सर्भे इन्जिनियर केशर खड्का र भू–गर्भविद् मधुसुदन सापकोटा उक्त क्षेत्रमा अध्ययन–अनुसन्धानमा तल्लीन छन् । भू–गर्भविद् सापकोटाका अनुसार ग्रेनाइट छ भनेर खोजतलास गरेको हो । कुन गुणस्तरको र कति परिमाणमा छ भन्नेचाहिँ अहिले भन्न नमिल्ने उनले बताए । ‘हामी खोजतलास कार्यमै रहेकाले यकिन भन्न नमिल्ने र प्रतिवेदन तयार भएपछि मात्र सबै कुरा गरौँला,’ भू–गर्भविद् सापकोटाले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । २०७७ असार ३० गते खोजतलास कार्य गर्न अनुमति पाएका नरेन्द्र प्रधानले ०७९ जेठ २१ गते मात्र वडा कार्यालयलाई जानकारीपत्र दिएका छन् । स्थानीय भने जानकारी नदिई केही महिनाअघिदेखि खोजतलास गरेकोमा असन्तुष्ट देखिएका छन् ।