कम्प्युटर र टेलरिङ तालिम सम्पन्न

  • त्रिशूली प्रवाह
  • १७ असार २०७९, शुक्रबार १२:४२

विदुर, नुवाकोट उद्योग वाणिज्य सङ्घको मातहतमा रहेको इलम प्रशिक्षण केन्द्रमा सञ्चालित कम्प्युटर अपरेटर र टेलरिङ तालिम आइतबार समापन भएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र गजुरी धादिङद्वारा सञ्चालित उक्त तालिमको समन्वय इलम प्रशिक्षण केन्द्रले गरेको थियो ।

कम्प्युटर अपरेटर तालिम ०७८ माघमा सुरु भई ०७९ असार १० गते सम्पन्न भएको थियो । उक्त तालिमको अवधि एक सय ५६ कार्यदिन, दैनिक पाँच घण्टा गरी कुल सात सय ३० घण्टा रहेको कम्प्युटर प्रशिक्षक मन्दिरा साहले बताइन् । गरिब तथा विपन्न परिवारका जेहेनदार युवालाई छनोट गरी दिइएको तालिम निःशुल्क र यातायात तथा खाजाभत्तासमेत व्यावसायिक तथा सीप विकास तालिम केन्द्र गजुरी धादिङले दिएको थियो । त्यसैगरी, इलम प्रशिक्षण केन्द्रमा ०७८ चैत २३ गतेदेखि सुरु भई ०७९ असार ८ गतेसम्म सञ्चालन भएको टेलरिङ तालिम अपाङ्गता भएका व्यक्तिलाई दिइएको थियो । तालिमको अवधि साढे दुई महिना, कार्यदिन ६५, दैनिक ६ घण्टासहित तीन सय ९० घण्टा रहेको प्रशिक्षक सुभद्रा सापकोटा घिमिरेले जानकारी दिइन् । दुवै तालिमको समापन आइतबार नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीको सभापतित्वमा भएको थियो । तालिमका सहभागीलाई व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख पुरुषोत्तम पाण्डेले र सङ्घका अध्यक्ष कार्कीले प्रमाणपत्र र यातायात तथा खाजाभत्ता, नगद वितरण गरेका थिए । सो तालिम समापनको अवसरमा केन्द्रका प्रमुख पाण्डेले सिकेको सीपलाई काममा लगाउन सुझाव दिए । कम्प्युटर तालिममा १९ र टेलरिङमा १६ जना युवायुवती सहभागी थिए । तालिम जीवन निर्वाह गर्न उपयोगी रहेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष कार्कीले प्रमाणपत्र वितरणपछि सम्बोधनको क्रममा बताए । इलम केन्द्र नुवाकोट उद्योग वाणिज्य सङ्घले ०६० देखि सञ्चालन गरिरहेको छ । केन्द्रले जिल्लाका लागि आवश्यक प्राविधिक जनशक्ति न्यूनतम शुल्कमा उत्पादन गर्दै आएको छ ।