Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

विष्णु आचार्य ‘अतृप्त’को ‘घर फर्कने तिर्खा’ विमोचन

त्रिशूली प्रवाह
३ साल अगाडी
  • शम्भुराम दाहाल

विदुर, विदुर नगरपालिका-५ माझीटारमा जन्मिएर लामो समयसम्म नुवाकोटलाई कर्मथलो बनाई प्राध्यापन तथा साहित्य सिर्जनामा क्रियाशील रहँदै आएका नुवाकोटेली स्रष्टा विष्णु आचार्य ‘अतृप्त’को ‘घर फर्कने तिर्खा’ कवितासङ्ग्रह गत जेठ २९ गते आइतबार काठमाडौंमा विमोचन भएको छ ।

प्रा.डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा नेपाल विद्युत् प्राधिकरण प्रधान कार्यालय, दरबारमार्ग, काठमाडांैको सभाकक्षमा सञ्चालन भएको एक कार्यक्रमबीच सो कवितासङ्ग्रह लोकार्पण भएको हो । उक्त समारोहमा सो कवितासङ्ग्रहको अतिरिक्त नेपाल विद्युत् प्राधिकरण विद्युत्कर्मी साहित्यिक समाजबाट प्रकाशित ‘अमरज्योति साहित्यिक त्रैमासिक’ को ५४औँ अङ्क पनि लोकार्पण भएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि डा. ज्ञवालीले विभिन्न दृष्टान्तसहित साहित्यको महत्व र समाज रूपान्तरणमा यसले पार्ने प्रभावमाथि प्रकाश पारेका थिए भने विमोचित कवितासङ्ग्रह ‘घर फर्कने तिर्खा’को शक्ति र सीमाबारे कार्यक्रमका विशेष अतिथि व्यङ्ग्य निबन्धकार वासुदेव गुरागाईं (पिँडालु पण्डित)ले समालोचकीय धारणा प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा साहित्यिक स्रष्टा कृष्णप्रसाद पौडेल, शारदादेवी भट्टराई, मोहनबहादुर कायस्थ, पुण्य घिमिरे, शिशिर थापा, मदन तिम्सिना, रिता खनाल, मुकुन्दप्रसाद प्रसाईं, केशव रुपाखेतीलगायतले आ-आफ्नो रचना वाचन गरेका थिए ।

सो समारोहमा कवि आविष्कार कला र कवि विष्णु आचार्य ‘अतृप्त’ले विमोचित कवितासङ्ग्रह ‘घर फर्कने तिर्खा’बाट एक–एक वटा कविता पनि वाचन गरेका थिए । सोही दिन सम्पन्न भएको विद्युत्कर्मी साहित्यिक समाजको सातौँ अधिवेशनले श्री कृष्णदेव रिमाल ‘शब्दसेना’को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपले चयन गरेको थियो । समितिका अन्य पदाधिकारीमा शारदादेवी भट्टराई पोखरेल (उपाध्यक्ष), विष्णु आचार्य ‘अतृप्त’ (सचिव), शारदा पराजुली (सहसचिव), मुकुन्दप्रसाद प्रसार्इं (कोषाध्यक्ष) रहेका छन् भने सदस्यमा सङ्गीता अधिकारी पौडेल, आविष्कार कला, रिता खनाल, भोला शर्मा, मनुकुमारी पुलामी र बलराम पुडासैनी रहेका छन् । विद्युत्कर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’को सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणमा साहित्यको जग बसाउन अहोरात्र खटिएका स्रष्टा जुजुकाजी रञ्जित, कुलप्रसाद पराजुली, पुन्य घिमिरे, रामेश्वर राउत ‘मातृदास’, विष्णुबहादुर सिंह, कृष्णमोहन जोशी, मञ्जुलाल श्रेष्ठ, मोहनकृष्ण उप्रेती, राजु शर्मा, बिन्दु शर्मा, वाइआर घलेलगायतको उपस्थिति रहेको थियो ।

नेपाल विद्युत् प्राधिकरण विद्युत्कर्मी साहित्यिक समाजबाट प्रकाशित ‘घर फर्कने तिर्खा’ कवितासङ्ग्रह कुल ११२ पृष्ठमा संरचित छ । २५० रुपैयाँ मूल्य रहेको सो पुस्तकको आवरण पृष्ठ सुनिता देवकोटाले तयार पारेकी हुन् । उक्त पुस्तकमा देशप्रेम, प्रकृतिप्रेम, मानवतावाद, समसामयिक चेत तथा व्यङ्ग्य-विद्रोहको भावले ओतप्रोत जम्मा ४८ थान कविता सङ्ग्रहित रहेका छन् । हाल नेपाल विद्युत् प्राधिकरणको सेवामा कार्यरत आचार्यले लामो समयअघिदेखि नै कविता, लघुकथा, गीत, गजल, मुक्तक, हाइकु आदि विधामा सशक्त ढङ्गले कलम चलाउँदै आएका छन् । उनको शब्द रचनामा ‘अघि बढे भेल बाढी….’ बोलको गीत नुवाकोटेली गायक ईश्वर अमात्यले गाउँदै छन् भने उनको मुक्तक र गजल सङ्ग्रह पनि प्रकाशोन्मुख अवस्थामा रहेको बुझिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह