धादिङ अस्पतालमा अक्सिजन उत्पादन बन्द

  • त्रिशूली प्रवाह
  • २३ असार २०७९, बिहीबार १२:४०

धादिङवेंशी, धादिङ जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन शुरु भएको केही दिनमै बन्द भएको छ । असार ३ गतेदेखि उत्पादन शुरु गरिएको अक्सिजन प्लान्टमा प्राविधिक समस्या आएपछि बन्द भएको छ ।

अक्सिजन प्लान्टमा सफ्टवेयरको समस्या आएकाले बन्द भएको अस्पतालका सूचना अधिकारी बिक्रम विकले जानकारी दिनुभयो । उहाँका अनुसार दुईवटा अक्सिजन प्लान्टमध्ये १५ एम.एन प्रदेश सरकारले पठाएको र पाँच एम.एनको प्रदेशको बजेटले लगभग ४० लाखमा जर्मनीबाट ल्याईएको मेशिन जडान गरिएको थियो । बन्द भएको प्लान्ट मर्मतसम्भारको प्रक्रिया अगाडी बढाईएको छ । धादिङ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको करिब नौ महिनापछि अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन शुरु भएको थियो । असार ३ गतेबाट दैनिक ४० लिटरको चारवटा र ३० लिटरको ६ वटा अक्सिजन सिलिण्डर भर्न सकिने गरी अक्सिजन उत्पादन शुरु भएको थियो । धादिङ अस्पतालमै अक्सिजन सिलिण्डर भर्न सकिने भएपछि धादिङलगायत छिमेकी जिल्लामा समेत अक्सिजन अभावका कारण बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डा.मधुकर दाहालले बताउनु भयो । अस्पतालले धादिङका १३ वटा स्थानीय तहका स्वास्थ्य संस्थामा समेत अक्सिजन सहजरूपमा आपूर्ति गर्ने तयारी भईरहेको थियो ।

कोभिड-१९ का बेला अक्सिजन अभावले सयौं बिरामी बेडमा छट्पटिरहेका थिए । यहीँ अवस्थालाई मध्यनजर गर्दै संघीय सरकार र प्रदेश सरकारले अक्सिजन जडानका लागि प्रदान गरेको ४२ लाख रकमले प्लान्ट जडान शुरु गरिएको थियो । अस्पतालले अक्सिजन प्लान्टबाट २४ घण्टामा ५५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने र नयाँ प्रविधिको अत्याधुनिक मेसिनबाट थाईराइड, भिटामिन ‘डी’ र हर्मोन प्रोफाईलसमेत जाँच शुरू गरेको थियो ।