- सुनिल श्रेष्ठ
जिलिङ, नुवाकोट जिल्लाको केही सरकारी विद्यालयले क्षमता भन्दा बढी विद्यार्थी पढाई रहेपनि बेलकोटगढी नगरपालिका वडा नं.-८ जिलिङका वागेश्वरी आधारभुत विद्यालयमा भने विद्यार्थीको संख्या घट्ने क्रममा छ । निञ्जना-बाघखोर सडक निर्माणपछि बेलकोटगढी नगरपालिका वडा नं.-८ जिलिङका वागेश्वरी आधारभुत विद्यालयमा विद्यार्थी पातलिएका छन् । निजी तथा अन्य विद्यालयमा विद्यार्थी भरीभराउ भईरहँदा उक्त विद्यालयमा विद्यार्थी संख्या पातलिएको हो ।
सडकको स्तरोन्नतीपछि अभिभावक शहरीया जीवनशैलीले बसाई-सराई गएका र घर, आँगनमै निजी विद्यालयको सवारी साधन आउने भएपछि आफ्ना बालबालिकालाई विदुर नगरपालिकाका विभिन्न क्षेत्रका विद्यालयमा आफ्ना बालबालिका पठाउने गरेकोले विद्यार्थीको संख्या घटेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पुडासैनीले बताए । “विद्यालयमा करिव १ सय ५० को हाराहारीमा विद्यार्थी अध्ययन गर्ने गरेकोमा अहिले ३० भन्दा कम विद्यार्थी रहेको छ’’, उनले भने “विद्यालयको कक्षा ३ र ४ मा अंग्रेजी माध्यमबाट अध्यापन हुने भए तापनि गाउँको शिक्षा भन्दा शहरमा रहेको विद्यालयको शिक्षा राम्रो हुने मनसायले विद्यार्थी लग्ने गरेको छ ।’’ अभिभावक र ब्यवस्थापन भेलामा विद्यालयको शैक्षिक सुधारका प्रस्ताव बारम्बार राख्दा पनि कुनै कार्यान्वयन नभएको उनले बताए ।
विद्यालयमा ३० वर्ष स्थायी दरबन्दीको रुपमा अध्यापन गराउँदै आईरहेकोमा आगामी पुष महिनामा अनिवार्य अवकाश हँुदै गर्दा विद्यालयमा विद्यार्थीको संख्या कमी भएकोमा उनी दुःखी भएका छन् । बालशिक्षा र दिवा खाजा कार्यक्रम विद्यालयमा लागू भए तापनि विद्यार्थी विद्यालय आउन छाडेको बताए । हाल विद्यालयमा दरबन्दी शिक्षक ३ जना, बाल शिक्षिका १ जना, नगरपालिकाबाट शिक्षक १ र कर्मचारी १ जना रहेका छन् ।




प्रतिक्रिया