- सुनील श्रेष्ठ
विदुर, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटद्वारा आयोजित कवितालेखन तथा वाचन प्रतियोगितामा नुवाकोट ग्लोरी इङ्ग्लिस बोर्डिङ स्कुलकी ननिशा कँडेल प्रथम भएकी छिन् ।
प्रतियोगितामा उनले सर्वाधिक अङ्क ल्याएर प्रथम स्थान हासिल गरेकी निर्णायक संयोजक शिवसुन्दर पुडासैनीले जानकारी दिए । कँडेलले ७१ दशमलव ६६ प्रतिशत अङ्क हासिल गरेकी छिन् । यस्तै, अर्किड एकेडेमीका सुविन तामाङ द्वितीय (६८), जेडी सेकेन्डरी बोर्डिङ स्कुलकी डोल्मा तामाङ तृतीय (६६ दशमलव ६६) र जेडीकै पूजा यादव (६६) ले सान्त्वना प्राप्त गरिन् । विजेताले प्रमाणपत्र र पुरस्कार प्रदान गरेका छन् । ‘मेरो देश’ शीर्षक दिइएको प्रतियोगितामा नौ विद्यालयका १६ विद्यार्थीको सहभागिता रहेको थियो । जसमा छात्रा ११ र छात्र पाँचजनाले कवितालेखन र वाचन गरेका थिए । प्रतियोगिताको प्रतिस्पर्धीका लेखन, वाचन, शब्द, प्रस्तुति, लयलगायतका प्रावधानलाई लिएर निर्णय गरिएको निर्णायकमण्डलका संयोजक पुडासैनीले बताए ।
निर्णायकमण्डलमा गोविन्दप्रसाद आचार्य र तुलसा अधिकारी पनि थिए । वार्षिक कार्यक्रमअन्तर्गत यस महिनामा कवितालेखन तथा वाचन प्रतियोगिता गरिएको प्याब्सन नुवाकोटका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए । विद्यालय पहिचानका लागि हरेक कार्यक्रम प्याब्सन नुवाकोटका सदस्यका फरक–फरक विद्यालयमा गरिएको बताए । कार्यक्रममा जेठ २९ गते भएको चित्रकला प्रतियोगिताका विजेतालाई पनि पुरस्कार वितरण गरिएको थियो ।्




प्रतिक्रिया