फुटसलको उपाधि अर्किडलाई

  • त्रिशूली प्रवाह
  • ३० असार २०७९, बिहीबार १३:००

बट्टार, युनाइटेड फुटबल क्लबको आयोजनामा भएको अन्तरविद्यालय फुटसलको उपाधि अर्किड एकेडेमीले हात पारेको छ । शनिबार भएको छात्रातर्फ फाइनलमा सुभेनियर बोर्डिङलाई एक गोलअन्तर र छात्रतर्फ च्वाडी माध्यमिक विद्यालयलाई दुई गोल अन्तरले हराउँदै दुवै विधामा अर्किडले उपाधि उचालेको हो ।

छात्रातर्फको खेलमा अर्किडकी विपना तामाङको एक गोल नै निर्णायक गोल बन्यो । छात्रतर्फ अर्किडकै सन्देश केसी र सञ्जोन कोइरालाले एक/एक गोल गरे । खेलमा च्वाडी माविका जर्सी नम्बर-३३ नम्बरका खेलाडीले फल गरेबापत एक पहेँलो कार्ड प्राप्त गरे । विजेता र उपविजेतालाई विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष बुद्धि प्रधान र नुवाकोट फुटबल सङ्घका अध्यक्ष देवनारायण चित्रकारले संयुक्त रूपमा प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरे । सेमिफाइनलमा छात्रातर्फ सुभेनियरले जेडी बोर्डिङलाई २/१ र अर्किडले स्पार्कललाई १/० गोलअन्तरले हराउँदै फाइनल पुगेका थिए । यस्तै, छात्रतर्फ च्वाडीले नेसनल बेथल एकेडमीलाई १/० र अर्किडले सुभेनियरलाई ५/१ गोलअन्तरले हराउँदै फाइनल पुगेका थिए । प्रतियोगितामा अनुशासित टिम जेडी बोर्डिङ स्कुल उत्कृष्ट घोषित भयो । उत्कृष्ट गोलरक्षक अर्किडका विज्ञान रिमाल (छात्र) र सुभेनियरका प्रकृति राई (छात्रा), सर्वाधिक गोलकर्तामा सञ्जोन कोइराला (छात्र) र विपना तामाङ (छात्रा) घोषित भए । शुक्रबार र शनिबार दुई दिन भएको प्रतियोगितामा जिल्लाका निजी तथा सामुदायिक २४ विद्यालयका ३५ छात्र समूह र ६ छात्रा समूहले सहभागिता लिएको आयोजक क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।