- सरस्वती न्यौपाने
धुन्चे, रसुवा जिल्लाको साबिकको धुन्चे गाविस हाल गोसाइँकुण्ड गाउँपालिका-६ मा रहेको सरकारी स्वामित्वको सभाहल अहिले बेवारिस बनेको छ । ०७२ को भूकम्पपछि खण्डहर भइरहँदा सदरमुकाम आउने र स्याफ्रुबेँसी, रसुवागढी सडकमार्गबाट आवत-जावत गर्नेले आँखाले त हेर्छन्, देख्छन्, तर भत्किएको सात वर्ष हुँदा पनि कहिले बन्ने टुङ्गो नलाग्दा निराश हुन्छन् । स्थानीयलाई धुन्चे पुग्नेले सभाहलबारे सोधेर हैरान पार्छन् । सरोकारवाला निकायको ध्यान उक्त संरचना न हटाउने चासो दिन्छन् न बनाउनलाई प्रक्रिया अगाडि बढाउँछन् ।
तत्कालीन जिल्ला विकास समिति अहिलेको जिल्ला समन्वय समिति रसुवाको मातहतमा रहेको सभाहल पुनर्निर्माणका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारले चासो नदिँदा खण्डहरमा परिणत भएको छ । ०३२ सालमा निर्माण भएको सभाहललाई जिल्लाकै गहनाको रूपमा लिइन्थो । सभाहल जिल्लाको महत्वपूर्ण कार्यक्रमका साथै धुन्चेका स्थानीयले विवाह, घेवामा समेत प्रयोग गर्दथे । कुनै सभा-समारोह, गोष्ठी, सांस्कृतिक कार्यक्रम गर्नुपरे यसै हलमा हुने गरेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ स्मरण गर्छन् । अहिले उक्त सभाहलको महत्वपूर्ण भौतिक सामग्री चोरी हुने, हराउने क्रममा छ । जिल्लामा सांसद, मन्त्री जो आए पनि आँखाले देख्छन्, हेर्दछन् सभाहल पुनर्निर्माण गर्न पहल गर्छु त भन्ने गर्छन्, तर कार्यान्वयनमा नआउँदा धुन्चेवासी खिन्न छन् । तत्कालीन सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर रसुवा आउँदा सभाहल हेरेर अब छिट्टै बन्छ भने पनि त्यो पनि व्यवहारमा लागू भएन । यस सभाहल बनाउन डिपिआर गर्न करिव ४० करोड रुपैयाँ लाग्ने बताइएको छ । भूकम्पले तहस-नहस बनाए पनि पुनर्निर्माण हुनुपर्ने हो । कहाँ के मिलेन, जति भने पनि कसैबाट सुनुवाइ नभएको नागरिक समाजका अध्यक्ष तामाङले बताए ।
प्रतिक्रिया