बट्टार, जिल्लाको पुरानो साधन-स्रोतसम्पन्न नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टार एक सातादेखि क्याम्पस प्रमुखविहीन भएको छ । क्याम्पस प्रमुख जितेन्द्र अर्यालले गत हप्ता पदबाट राजीनामा विज्ञप्तिमार्फत सार्वजनिक गरेपछि क्याम्पस प्रमुखविहीन भएको हो ।
जितेन्द्र अर्यालले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै पारिवारिक कारण देखाउँदै क्याम्पस प्रमुख पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । कानुनअनुसार क्याम्पस प्रमुखले सञ्चालक समितिको अध्यक्षलाई राजीनामा बुझाउनुपर्ने भए पनि सञ्चालक समितिसँगको मनमुटावले राजीनामा दिएका कारण विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत राजीनामा दिन बाध्य भएको उल्लेख गरेका छन् । २०७८ माघ ३ गतेदेखि उनले नुवाकोट आदर्श बहुमुखी क्याम्पसको प्रमुखको जिम्मेवारी पाएका थिए । यसैबीच, अब निवर्तमान क्याम्पस प्रमुख भएका जितेन्द्र अर्यालले आफ्नो कार्यकालमा सञ्चालक समितिको निर्माण गरेको, अडिट कार्य सम्पन्न गरेर नियमित अनुदान ल्याउन सुरु गरेको, कक्षाकोठामा मल्टिमिडिया जडान र शिक्षकलाई ल्यापटप उपलब्ध, सभाहलको ढलान कार्य सम्पन्न, उत्कृष्ट प्राध्यापकको नियुक्तिलगायतका क्याम्पसको उन्नयनका लागि सक्दो प्रयास गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । क्याम्पसमा विगत तीन वर्षदेखि राजनीतिक खिचातानीबाट बनेको क्याम्पस सञ्चालक समिति अवैध ढङ्गले सञ्चालन भइरहेको छ । क्याम्पस सञ्चालक समितिबारे अदालतमा संस्थापक अध्यक्ष वसन्तलाल श्रेष्ठ र क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले अनियमितताविरुद्ध मुद्दा दर्ता गराएका छन् । उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको छ । क्याम्पसमा विद्यार्थीको चाप बढेको छ, क्याम्पस क्यु सर्टिफाई हुने अवस्थामा रहेको छ ।




प्रतिक्रिया