+
Search

ताजा अपडेट +

पपुलर +

धार्मिक पर्यटक आकर्षित गर्ने देवस्थल कपिलमुनि र कपिलेश्वर धामसँग जिल्लाबासी अपरिचित

त्रिशूली प्रवाह
३ साल अगाडी
  • प्रेममान डंगोल
  • शरण उत्सुक सापकोटा

हाम्रो देश ऋषिमुनिको तपोभूमि हो । यहाँ कयौं ऋषिमुनिले तपस्या गरी शिवशक्ति स्वरूपमा लीन भएको प्रसङ्ग धर्मशास्त्रमा धेरै पाईन्छ । यसै प्रसङ्गमा कपिलमुनिले पनि नुवाकोट जिल्लाको कबिलास डाँडामाथि देवाधिदेव महादेवको तपस्या गरी शिवस्वरूप बनि कपिलेश्वर पशुपतिनाथको स्थापना गर्नुभएको थियो । यसबारेमा अधिकांश नुवाकोटबासी अपरिचित रहेका छन् । यसको महिमाको बारेमा सोधखोज शुरू भएको छ ।

कपिलमुनि भगवान् विष्णुको २४ अवतारमध्ये पाँचौं अवतारका रूपमा पूजित हुनुहुन्छ । भारतका धेरै स्थानमा र दक्षिण एसियाका विभिन्न स्थानमा पनि कपिलमुनिका मन्दिर स्थापना गरिएका छन् । भारतमा कपिलमुनिलाई विष्णु भगवानकै रूपमा पुजा अर्चना गरिन्छ । नेपालको कपिलवस्तु जिल्ला पनि कपिलमुनिकै नामबाट बनेको हो । कपिलमुनिले स्थापना गर्नुभएको बस्ती भएकाले नै कपिलवस्तु नाम रहन गएको हो भनिन्छ । कपिलवस्तुका राजा शुद्धोधनका छोरा गौतम बुद्ध यहीँ भूमिमा जन्म भई विश्व शान्तिका अग्रदूत बनेका हुन् । कपिलवस्तुमा बस्ती बसाउने कपिलमुनिकै मूर्ति वा मन्दिर नहुनु दुःखको कुरा हो, कहीँ कतै रहेको छ कि अनुसन्धानको विषय बनेको छ । कपिलवस्तुमा रहेको संग्रहालयमा पनि स्पष्टरूपमा कपिलमुनिको मूर्ति भेटिएको छैन ।

नुवाकोट जिल्लाको साबिकको कबिलास गाविस वडा नं.-७ हालको पञ्चकन्या गाउँपालिका वडा नं.-२ मा रहेको कपिलेश्वर महादेव नुवाकोट जिल्लाको एक महत्वपूर्ण देवस्थल हो । कपिलेश्वर महादेवको साउन महिनामा दर्शन गरे सुख, शान्ति र सम्बृद्धि मिल्ने विश्वास गर्दै वर्षेनी जिल्ला बाहिरबाट पनि दर्शन गर्नेको संख्या बढिरहेको छ । यस क्षेत्रमा आध्यात्मिक तथा धार्मिक महत्वका प्राकृतिक गुफा, ब्रहम्मेश्वर महादेव, बासुकी नाग, ब्रहम्मेश्वर घाट, ब्रहम्मेपदी र ब्रहम्मागंगा घाट, ब्रहम्मकुण्ड, राक्षेश्वर महादेव, नृसिंह भगवान मन्दिर, वनदेवी, सरस्वती, लक्ष्मी, पातालदेवीका मन्दिर,सहित नाट्यश्वरी र कपिलेश्वर महादेवको मन्दिर रहेको छ । यस स्थलमा जानको लागि काठमाडौंबाट टोखा हुँदै छहरे र विदुरबाट छहरेसम्म आउने पक्की सडक रहेको छ । छहरेबाट कबिलास पुग्न ४५ मिनेटको सडकमार्गबाट पुग्न सकिन्छ । छहरेबाट कपिलेश्वर महादेव मन्दिरको फेदीसम्म पुग्ने ग्राभेल सडक रहेको छ । फेदीबाट मन्दिरसम्म पुग्ने ४ सय मिटर सुविधाजनक पक्की खुट्किला पार गर्नुपर्छ ।

परापूर्वकालमा देवता र असुर मिलेर समुद्र मन्थन गर्दा कालकुट विष निस्केपछि हाहाकार भयो । त्यो कालकुट विषले सृष्टि भईसकेको विश्व ब्रह्माण्ड नै ध्वस्त हुने डरले त्राहिमाम् त्राहिमाम् भन्दै सबै देवताले तपस्यामा लीन भएका देवाधिदेव महादेव समक्ष गई प्रार्थना गरेर कालकुट विषलाई समन गर्नुपर्ने अनुरोध गरे । विश्व ब्रह्माण्डको रक्षा र लोककल्याणका लागि महादेव आफैं अघि सरेर उक्त कालकुट विष पान गर्नुभयो । उति नै खेर शक्ति स्वरूपा पार्वतीले महादेवले पान गर्नुभएको कालकुट विषलाई महादेवको घाँटीमै रोकी दिनुभयो । विष पिएपछि पिडा भएर डाहाले छटपटिएर वायुवेगमा महादेव हिँड्न थाल्नुभयो । यसरी छट्पटिएर हिँडेका महादेव काठमाडौंको हाल पशुपतिनाथ रहेको स्थान हुँदै नुवाकोटका हाल दुप्चेश्वर महादेवस्थान रहेको ठाउँमा बास बसी भोलीपल्ट गोसाइँकुण्डमा पुगेर आफैं त्रिशूलले पहरामा हानेर निकालेको जलकुण्डमा विषको डाह शान्त पारेर बस्नुभयो ।

यसरी छट्पटिएर हिंडेका महादेवको पछि लागेर गएका ऋषिमुनिको साथमा गएका कपिलमुनि हिँड्दाहिँड्दै छुट्टिन पुगे र पछि एक्लै परेका कपिलमुनि कबिलास डाँडामा पुग्दा त्यहीँ महादेवको ज्यार्तिलिङ्गको दर्शन पाएछन् । तब कपिलमुनि अत्यन्तै हर्षित भई त्यहीँ महादेवको शिवलिङ्ग स्थापना गर्नुभयो । त्यहीँ कपिलमुनिले आश्रम बनाएर हजारौं गाई पालेर महादेवको तपस्या गरी बसेछन् । कपिलमुनिले स्थापना गर्नुभएको शिवलिङ्गलाई पछि गएर कपिलेश्वर महादेवको नामले पुकारिन थालेको हो । उता समुद्र मन्थनका क्रममा अमृतको घडा बोकेर धन्वन्तरी निस्केछन् । यसरी निस्केको अमृत पहिला मैले पिउन पाउनुपर्छ भन्दै देवता र दानवमा विवाद चर्केछ । दानवले अमृतको घडा खोसेर लैजान सफल हुन्छन् र आफु-आफुमै पहिला अमृत पिउने भन्दै खोसा–खोस गर्न थालेछन् । उक्त विवाद शान्त पार्न र देवतालाई मात्र अमृत पिलाउने खेल खेल्न भगवान विष्णुले अत्यन्तै आकर्षक मोहिनीको रूप लिई राक्षसलाई लठ्याएर देवता र दानवलाई दुई हारमा बस्न लगाएर अमृत बाँडेर पिलाउने क्रममा पहिला देवताको हारमा अमृत पिलाउँदै दानवपट्टि हेर्दै मोहिनी मुस्कान छर्दै दानवलाई मख्ख पारिरहेको हुन्छ । त्यत्तिकैमा एउटा दानवलाई शंका लागि देवताकै रूप लिई देवता बसेको अन्तिम हरफमा बस्न पुग्छ । मोहिनीरूपी भगवान विष्णुले देवतालाई अमृत पिलाउँदै जाँदा अन्तिम स्थानमा बसेका दानवलाई पनि देवता ठानेर अमृत पिलाउन पुग्छ । अमृत पिलाउने बित्तिकै यो त देवता होइन, दानवले छल गरेर बस्न आएको भन्ने थाहा पाउने बित्तिकै मोहिनीले आफ्नो बास्तविक विष्णुको रूपमा प्रकट भई सुदर्शन चक्रले त्यो दानवको शिर छेदन गरिदिनुभयो । त्यही दानवको शिर र शरीरको दई भाग राहु र केतुका रूपमा आजसम्म अमर रहेको छ ।

यसरी देवताले छल गरेर अमृत पान गरेको र आफुलाई अमृत नपिलाएको थाहा पाएका दानवले देवतामाथि धावा बोले, भिषण आक्रमण गरे, कतिपय देवतालाई घायल पारे । तब ब्रह्माजीले सबै देवतालाई भगाएर ल्याई कबिलास डाँडा नजिकै रहेको ब्रह्मेश्वर क्षेत्रमा देवसेना र देवतालाई लुकाएर राखे । त्यहीँ ब्रह्माले विश्व शान्तिको लागि यज्ञ गर्नुभयो । दानवले त्यहीँ आएर आक्रमण गर्न थाले । तब ब्रह्माले नारदलाई सुरक्षित ठाउँ खोज्न लगाउँदा कबिलास डाँडामा कपिलमुनिले शिवलिङ्ग स्थापना गरी तपस्या गरिरहेको स्थान नजिकै चमेरो गुफा फेला पारेर सबै देवगणलाई लुकाएर राखे । त्यहीँ चमेरो गुफाबाट देवसेनाले असुर सेनालाई धपाउन सफल भए । त्यहीँ ब्रह्माले धर्मसभा पनि गरेका थिए । योगी नरहरिनाथको भनाईअनुसार पनि देवदेवीमाथि असुरबाट भीषण आक्रमण हुन थालेपछि देवदेवी सुरक्षित स्थानमा रहेर मोर्चाबन्दी गर्ने उद्देश्यले चितवनको देवघाटमा र देवीजति नुवाकोटको विदुर नगरपालिकाको देवीघाटमा जम्मा भए । त्यहीँ समयमा शान्तिका लागि ब्रह्माले ब्रह्मक्षेत्रमा यज्ञ गर्न थाले । त्यति बेला असुरले त्यहाँ पनि यत्रतत्रबाट आक्रमण हुन थालेपछि देवताले सुरक्षित स्थान अहिले भन्ने गरेको चमेरो गुफाभित्र सेना राखेका थिए । तिनीहरूलाई प्रयोग गरी असुर नास गर्न लगाए । उता ब्रह्माजीले धर्मसभा गर्न खोज्दा सुरक्षित स्थान खोज्ने क्रममा कपिलमुनिले शिवलिङ्ग स्थापना गरेर ध्यान गरेको स्थान कपिलेश्वर प्राङ्गणमा धर्मसभा गरेका हुन् । त्यसैले त्यस ठाउँको नाम कपिलेश्वरको नामबाट कविलास भएको हो । कपिलेश्वर महादेवको परिसर नुवाकोट जिल्लाकै महत्वपूर्ण देवस्थल हो । त्यसैले यस क्षेत्रलाई कपिलेश्वर धामकै रूपमा लिन सकिन्छ । यो देवस्थल लिखु र तादी नदीको बिचमा पूर्वपश्चिम भई उठेको कबिलास नामकै पहाडको टुप्पोमा रहेको छ । यो पहाड समुद्र सतहबाट ४ हजार ५ सय फिट माथि पर्दछ । लिखु र तादी नदीको सतहदेखि करिव २ देखि साँढे २ घण्टाको उकालो चढेपछि माथि मन्दिरमा पुगिन्छ । यस महादेवको दक्षिणपट्टि ठिक मुनितिर बाक्लो दनुवार (राई) बस्ती भएको गाउँ आँपचौर रहेको छ ।

कपिलेश्वर महादेवको स्थापना मध्य मल्लकालतिर भईसकेको कुरा त्यहीँ रहेको एक शिलालेखबाट पनि थाहा हुन्छ । बिहानबेलुका नित्यपुजा तथा आरती ब्राह्मण पुजारीबाट भईरहेको छ । पुजारीले पूजा गरिरहँदा दमाईंले एउटा दमाहा मात्र बजाईरहने चलन रहिआएको स्थानीय समाजसेवी लोकेन्द्रबहादुर महतले बताए । श्री कपिलेश्वर महादेव स्थानको पहाडमा उक्लिँदा श्री रक्षा बिनायक हुँदै पातालदेवी, सिद्धि बिनायक, सरस्वती, नात्येश्वर, महालक्ष्मी स्थान हुँदै उकालो चढ्दै गएपछि अन्त्यमा पहाडमाथि कपिलेश्वर मन्दिर पुगिन्छ । पशुपति महादेवको जस्तै चार ढोकाबाट दर्शन गर्न सकिन्छ । मन्दिरभित्र गएर पुजा गर्न पनि सकिन्छ । पशुपतिनाथको जस्तै चतुर्मुखी शिवलिङ्ग भएको कपिलेश्वर महादेव अत्यन्तै आकर्षक देखिन्छ । देवाधिदेव महादेवको चतुर्मुखी भएको शिवलिङ्गमा उर्ध्वमुख अर्थात् ईशान मुख समेत गरी पञ्चमुखी महादेवको रूपमा मानिन्छ । उक्त पञ्चमुखमा पूर्वमा तत्पुरुष, पश्चिममा सयोजग्र, उत्तरमा बामदेव, दक्षिणमा अघोर र उर्ध्वमा ईशानस्वरूप रहेका छन् ।

शिवजीका प्रत्येक मुखमा रहेका तीन आँखा सुर्य, चन्द्र र अग्नि मानिएका छन् । देवाधिदेव महादेवका यिनै स्वरूपमा रहेका कपिलेश्वर महादेवको अत्यन्तै महत्वपूर्ण ऐतिहाँसिक, धार्मिक एवं पुरातात्विक महत्वले भरिएको छ । यस देवस्थलको संरक्षण, सम्र्वद्धन र विकास गर्ने कार्यमा यथाशिघ्र सम्बन्धित निकाय, सरकार र सम्पूर्ण भक्तजनले चासो राख्नुपर्ने देखिन्छ । यस्तो पवित्रस्थल कपिलेश्वर धामको विकास गरेर धार्मिक पर्यटनको प्रर्वद्धन गर्न सकेमा त्यस क्षेत्र र कविलास गाउँ र पूरै पञ्चकन्या गाउँपालिकाको मात्र नभई नुवाकोट जिल्लाकै आर्थिक विकासमा ठूलो योगदान पुग्नेछ । ऐतिहासिक र अति प्राचिन धार्मिक, साँस्कृतिक एवम् पुरातात्विक धरोहरको जगेर्नामा स्थानीयको सक्रियता र सरोकारवाला निकायको ध्यान जान जरूरी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह