+
Search

ताजा अपडेट +

पपुलर +

पालिकाले करारका कर्मचारी हटाउँदा सेवा प्रभावित करार हटाएर करारमै नियुक्तिको तयारी

पालिकाले करारका कर्मचारी हटाउँदा सेवा प्रभावित करार हटाएर करारमै नियुक्तिको तयारी
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, स्थानीय सरकारले करारका कर्मचारीको समय नथप्ने निर्णय गरेसँगै नुवाकोटको तीनवटा स्थानीय तहमा कर्मचारी अभाव भएको छ । साउन १ गतेदेखि करारका कर्मचारीलाई हाजिर नहुन परिपत्र गरेसँगै कर्मचारी हाजिर भएका छैनन् । कर्मचारीको अभावमा पालिकाले दिने दैनिक सेवा प्रभावित भइरहेको छ ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा विदुर, बेलकोटगढी र तारकेश्वर पालिकामा एमालेलाई पराजित गर्न पाँचदलीय गठबन्धन भएको थियो । निर्वाचनमा गठबन्धनका प्रमुख/उपप्रमुख निर्वाचित भएपछि पूर्ववर्ती जनप्रतिनिधिले करारमा राखेका कर्मचारी र जिल्ला समन्वय समितिबाट आएका कर्मचारीलाई हटाएर पुनः करारमा कर्मचारी नियुक्ति गर्ने मनसायले कर्मचारीको अवधि नथपेपछि सेवा प्रभावित भएको छ भने हटाइएका कर्मचारी आन्दोलनमा उत्रेका छन् । विदुर नगरपालिकाले एक सय ४३, बेलकोटगढी नगरपालिकाले ४०, तारकेश्वर गाउँपालिकाले ४२ जना कर्मचारीको करार अवधि नथप्ने सूचना गरेका छन् । दुप्चेश्वर गाउँपालिकाले भने सूचना जारी गरेर करारका कर्मचारीको म्याद नथप्ने निर्णय गरेर पनि कर्मचारीको विरोधका कारण तीन महिना म्याद थप गरेर काममा खटाएको छ । बेलकोटगढी र तारकेश्वरले कार्यपालिकाको बैठकबाट निर्णय गराएर म्याद थप नगर्ने सूचना गरे पनि विदुरले कार्यपालिकाको बोर्डमा निर्णय गराउन सकेको छैन । विदुरले वडा कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण कार्यक्रम, प्रधानमन्त्री रोजगार, स्वास्थ्य संस्था एवम् सामी परियोजनामा कार्यरत कर्मचारीमध्ये हाललाई वडा कार्यालयमा करारमा कार्यरत वडासचिव, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, सामाजिक सुरक्षा तथा पञ्जीकरणमा कार्यरत करार कर्मचारी, सवारीचालकमा (हलुका तथा हेभीमा) कार्यरत कर्मचारीबाहेक अन्य करार कर्मचारीलाई अर्को सूचना नभएसम्म हाजिर नगराउने सूचना जारी गरेको छ ।

साउन १ गतेदेखि करारका कर्मचारीलाई हाजिर नगराउँदा विदुर नगरपालिकाको कृषि, भेटेरेनरी उद्योग, विपत् र विनपा-५ देवीघाट र विनपा-७ तुप्चेको कृषि र भेटेरेनरी सेवा केन्द्र बन्द भएका छन् । नगरपालिकामा रहेका स्थायी २५-२६ जना कर्मचारीलाई दैनिक कार्य सञ्चालन गर्न भ्याई-नभ्याई र सकस भइरहेको छ । विदुरले नगर प्रहरी १७, सवारीचालक १२, सामाजिक परिचालक १२, लघुउद्यम सहजकर्ता दुई, सामी परियोजना नौ, कार्यालय सहयोगी २५, स्वास्थ्य क्षेत्रका ३२ जनाको करार अवधि नथप्ने सूचना जारी गरेको छ । विदुरको निर्णयबाट असन्तुष्ट बनेको कर्मचारी आन्दोलनमा उत्रेका छन् । विदुरका वडा नम्बर १, २, ४, ६ र ११ का वडाध्यक्ष र कार्यपालिकाका बहुमत सदस्यले विज्ञप्ति प्रकाशित गरेर प्रमुख प्रशासकीय अधिकृतलाई करार म्याद थप गर्न र उक्त प्रस्ताव कार्यपालिका बोर्डमा ल्याउन हस्ताक्षरसहित दबाब दिइएका छन् । कर्मचारी हटाएको विरोधमा नेपाल निजामती कर्मचारी सङ्गठन, जिल्ला कार्यसमिति नुवाकोटले विज्ञप्ति प्रकाशित गरेर अविलम्ब पेसागत मर्यादा कायम राखी सेवा प्रवाहमा निरन्तरता दिन सम्बन्धित स्थानीय सरकारसँग जोडदार माग गरेको छ । विदुर नगरपालिकाका निवर्तमान मेयर सञ्जु पण्डितले सोमबार पत्रकार सम्मेलन गरेर राजनीतिक प्रतिशोध राखी कर्मचारी हटाउने कार्य न्यायसम्मत नभएको बताएका छन् । सम्पूर्ण प्रक्रिया पूरा गरी करारमा कर्मचारी व्यवस्थापन गरिएकाले हटाउन नहुने उनले बताए । एउटालाई हटाएर अर्को फेरि करारमा राख्नु कत्तिको न्यायोचित हुन्छ भनेर उनले प्रश्न गरेका छन् ।

नेपाल सरकार सङ्घीय मामिला मन्त्रालय र विदुर नगरपालिकाको संयुक्त प्रयासमा विदुर नगरपालिका कर्मचारी व्यवस्थापनसम्बन्धी सङ्गठन तथा व्यवस्थापन स्वीकृत गरी करारमा कर्मचारी राखिएकाले कर्मचारी हटाउँदा नगरपालिका र राज्यको ठूलो स्रोत खर्च गरेर दक्षता हासिल गराइएको स्मरण गराए । कर्मचारी बढी भए प्रक्रिया पूरा गरेर हटाउँदा कोही-कसैको विरोध हुँदैन, तर कार्यरत दक्ष कर्मचारी हटाएर नयाँ अर्धदक्षलाई भर्ना गर्दा नगरको स्रोत, साधन कति खर्च हुन्छ त्यसबारेमा सोच्न पनि उनले नगरप्रमुख र उनको टिमलाई आग्रह गरे । करार कर्मचारी हटाएर स्थायी प्रक्रियाबाट कर्मचारी थप गर्ने हो भने कसैको विरोध नहुने पनि उनको भनाइ छ । विदुर, बेलकोटगढी, तारकेश्वरले करारमा रहेकालाई हटाएर करारमा कर्मचारी राख्ने तयारी गरिरहेका छन् । करार कर्मचारी हटाउने निर्णयले बेलकोटगढीको वडा नम्बर ९ को वडासचिव र तारकेश्वर गाउँपालिका वडा नम्बर १ मा विगत १८ वर्षदेखि कार्यरत वडासचिवको जागिर गएको छ । उक्त दुवै वडा सचिवविहीन भएकाले सेवाग्राहीले सेवा पाउन सकिरहेका छैनन् । नेकपा एमाले जिल्ला कमिटीले करारका कर्मचारी हटाएकोमा आपत्ति जनाउँदै राजनीतिक आस्था र प्रतिशोधको आधारमा कर्मचारी हटाउने निर्णय अविलम्ब सच्याउन माग गरेको छ । विधि र प्रक्रिया पूरा नगरी लहडमा कार्यरत कर्मचारीको रोजीरोटी खोसेर पेटमा लात हान्ने काम राम्रो होइन, करार कर्मचारी हटाउने निर्णय अविलम्ब नसच्याए पालिकामा तालाबन्दी गर्ने र विरोधमा उत्रने जिल्ला कमिटीका उपाध्यक्ष बुद्धिबहादुर प्रधानले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह