उद्धव कार्कीको फूलको माला बजारमा

  • त्रिशूली प्रवाह
  • ५ श्रावण २०७९, बिहीबार १३:२२

विदुर, निजामती सेवामा कार्यरत उद्धव कार्की लोकसङ्गीतको उन्नयनमा खरो रूपमा उत्रेका छन् ।

शिवपुरी गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत कार्की विद्यार्थीकालदेखि नै कला, संस्कृतिमा रुचि राख्ने गर्दथे । स्कुलको कार्यक्रममा भाग लिँदै हौसला र पुरस्कार बटुल्दै आएका कार्कीले पहिलो गीत ‘खानीखोला बाँचे भेट होला’ भन्ने लोकलयको ०५६ सालमा रेशम थापासँग मिलेर रेकर्ड गराएका थिए । आफ्नै लयमा सुनकोसी सलल…. भन्ने भाकाको गीत ०५७ मा रेकर्ड गरेका कार्कीले पछिल्लो मौलिक भाखाको गीति एल्बम फूलको माला बजारमा ल्याएका छन् ।

जागिरे जीवनको दौरानमा फुर्सदको समय सदुपयोग गर्दै कार्कीले फूलको माला गीति एल्बममा थेगो, सङ्कलन र स्वर दिएका छन् । उनलाई यस गीत रेकर्डिङमा रचना रिमाल र सिद्धान्त परियारले स्वर दिएर साथ दिएका छन् भने गीतको शब्द दोहोरी च्याम्पियन प्रकाश पराजुली र लयमा शिवनारायण जोशीले साथ दिएका छन् । शिवपुरी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको फूलको माला भिडियो म्युजिकमा अनुप पराजुली र राजाराम सिंखडाको अभिनय रहेको छ । यो गीतको शब्द प्रकाश पराजुली, सङ्गीत संयोजन नारायण दङ्गाल, ध्वनि मिश्रण श्यामश्वेत रसाइलीको रहेको छ भने दृश्य निर्माण एड्भेन्चर इन्टरटेन्टमेन्टले गरेको छ ।

लोकगायकको रूपमा स्थापित हुँदै गरेका उद्धव कार्कीले एकल र संयुक्त गरेर एक सय ५० वटाभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । कार्कीको लोकलयका चर्चित गीतमध्ये सुनकोसी सलल….., मुटुको टुक्रा, कुर्ता सुरुवाल हिल, नरुवाऊ नेपाल आमालाई, खानीखोला, बाँचे भेट होला, जुनतारा माझैमा, फाटेको मन सकिन सिउनलाई, कहाँ पाउनु इन्टरनेट, बदनाम नगर, पञ्चेबाजा ठोकेर बिहे गर्छु, नुवाकोटे कोहीभन्दा कम छैन, जुटौँ नछुटौँ, भिसा लागे उहीसँग बिहे गर, पापिनीलगायतका छन् । उनले छिट्टै ‘त्यही पारिको ठूली’ नामक लोकभाकाको गीत रेकर्डिङ गर्ने तयारी गरिरहेका छन् ।