जनमतको हिसाबले एमाले पहिलो पार्टी : उपाध्यक्ष पौडेल

  • त्रिशूली प्रवाह
  • १२ श्रावण २०७९, बिहीबार ११:४७

विदुर, नेकपा एमाले नुवाकोटको आयोजनामा विदुरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन तथ्याङ्क विश्लेषण गर्दा एमाले दोस्रो पार्टी भए पनि जनमतका हिसाबले पहिलो पार्टी बन्न सफल भएको बताए ।

गठबन्धन नगरेको भए नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको सर्मनाक हार हुने निर्वाचनको तथ्याङ्क विश्लेषण गर्दा पुष्टि हुनेसमेत उनले बताए । सङ्घीय र प्रदेशको चुनावमा अन्य राजनीतिक पार्टीसँग तालमेल गरेर सरकार बनाउने घोषणा उनले सो अवसरमा गरे । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले भने, ‘विश्वमा कहीँ नभएको र नेपालमा कहिल्यै नभएको निर्लज्ज काम अहिलेका सरकारबाट भएको छ,’ बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई समावेश गरिएको र उनीहरूको स्वार्थपूर्तिका आधारमा करको दायरा फेरबदल गरेर सीमित व्यक्तिको पक्षपोषण भएको छ । उनले भने, ‘मुद्रास्फीति आठ प्रतिशतभन्दा बढी हुन लागेको, महँगीले अत्यावश्यक वस्तु आयात गर्न नसकिने अवस्थामा पुगिसकेको छ ।’ एमालेले ह्यान्डओभर गर्दा अर्थतन्त्रका सबै सूचक सकारात्मक थिए । एमालेको पालामा मूल्यवृद्धि तीन प्रतिशत थियो, अहिले आठ प्रतिशत पुगेको छ । जसले गर्दा जनजीवन धान्नै नसकिने गरी बढेको छ । यस बारेमा वर्तमान सरकार मौन बसेर जनतालाई थप संकटमा पारेको आरोपसमेत उनले लगाए ।

नेकपा एमाले नुवाकोट जिल्ला कमिटीले स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै आसन्न निर्वाचन लक्षित एकदिने प्रशिक्षण बुधबार विदुरमा सम्पन्न गरेको छ । एमाले केन्द्रको पूर्वनिर्धारित कार्यक्रमअनुसार पहिलो चरणमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेर दोस्रो चरणमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको हो । बागमती प्रदेशमै नुवाकोटले जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण गर्नेमा पहिलो जिल्ला बनेको छ । जिल्ला कमिटीका अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टी जीवनमा अनुशासनको महत्व विषयमा केन्द्रीय स्कुल विभागका सदस्य रामशरण प्याकुरेलले जनप्रतिनिधि र पार्टीबीचको अन्तरसम्बन्ध विषयमा नुवाकोट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले नुवाकोटको पार्टी निर्माणमा कार्यकर्ताको भूमिका विषयमा केन्द्रीय सदस्य एवम् नुवाकोट इन्चार्ज बिन्दा ढुङ्गानाले स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्न पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा केन्द्रीय सदस्य तथा बागमती प्रदेश सङ्गठन कमिटी अध्यक्ष केशवराज पाण्डेले प्रशिक्षण दिए । प्रशिक्षण कार्यक्रमका विशेष अतिथि पोलिटब्युरो सदस्य एवम् पार्टी स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले स्थानीय निर्वाचनको सन्देश, शिक्षा र आगामी निर्वाचनको पूर्वतयारीबारे प्रशिक्षण दिए । प्रशिक्षण कार्यक्रममा जनताको बहुदलीय जनवाद (जबज)को मान्यताअनुरूपको पार्टी निर्माण, वर्तमान राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामथ्र्य विस्तार र राष्ट्रको मुख्य शक्तिको रूपमा नेकपा एमालेको भूमिका तथा समसामयिक राष्ट्रिय राजनीतिक अवस्थाबारे उपाध्यक्ष विष्णु पौडेलले विस्तृत प्रशिक्षण दिएको जानकारी जिल्ला कमिटीका उपसचिव नीलकण्ठ आचार्यले दिए ।

कार्यक्रममा बागमती प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका र वडातहका कमिटीका पदाधिकारी, निर्वाचित पालिका अध्यक्ष र वडाध्यक्ष, जनवर्गीय सङ्गठनका प्रमुख, सम्पर्क मञ्चका पदाधिकारीको सहभागिता रहेको जिल्ला कमिटी सचिव सुदर्शन नेपालले बताए ।