आयुर्वेद उपचार पद्धतिको आकर्षण बढ्दो

  • त्रिशूली प्रवाह
  • १२ श्रावण २०७९, बिहीबार १२:२०

धुन्चे, धामीझाँक्री र एलोपेथिक औषधिमा निर्भर हुँदै आएका रसुवा जिल्लावासी पछिल्लो समय आयुर्वेदिक चिकित्सक पद्धतिको उपचारमा समेत क्रमशः आकर्षित हुन थालेका छन् ।

नियमित हेल्थपोस्ट जाने बानी परेका बिरामीलाई जडीबुटी मिश्रण औषधिले शारीरिक फाइदाको राम्रो लक्षण देखाएपछि सामान्य उपचार लिन पछिल्लो समय आयुर्वेद स्वास्थ्य केन्द्रतर्फ जाने बानीको विकास भएको छ । आयुर्वेद उपचार सेवा पु¥याउन रसुवाको धुन्चेलगायत पारच्याङ, भोर्ले, लहरेपौवा, स्याफ्रुसमेतका स्थानबाट उपचार प्रदान भइरहेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रसुवाका प्रमुख डा. अमूल्य दाहालका अनुसार आयुर्वेदिक उपचार पद्धतिबाट गत आर्थिक वर्षमा जिल्लाभर नौ हजार नौ सय ३३ पुरुष र तीन हजार दुई सय ५२ महिलासमेत गरी कुल १३ हजार एक सय ८५ जना रसुवाली नागरिकले सेवा लिइसकेका छन् । रसुवा जिल्लावासीले पहिला–पहिला एउटा सिटामोलसमेत पाउन गाह्रो थियो । अहिले जिल्ला आयुर्वेदको साथै दुईवटा अस्पताल, गाउँगाउँमा स्वास्थ्यचौकी, आयुर्वेद औषधालय, गाउँघर क्लिनिक, नागरिक आरोग्य केन्द्र, महिला स्वयम्सेविकाको व्यवस्थाजस्ता कार्यले उपचार सेवा निकै सहज भएको जिबजिबे महादेवस्थान टोलका समाजसेवी चिरञ्जीवी पौडेलले बताए ।

रसुवा जिल्लामा विगतमा कार्यरत रहेका चिकित्सकमध्ये जिल्ला अस्पतालतर्फ डा. आनन्द श्रेष्ठ, विजय खनाल, रमेश खरेल एवम् आयुर्वेदतर्फ डा. बाबुराजा अमात्य तथा सत्यराज थपलियाको योगदान महत्वपूर्ण रहेको रसुवा नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए । जिल्लामा जडीबुटी औषधिको साथसाथै परम्परागत रूपमा मान्दै आएको धामी–झाँक्री प्रथा अहिले पनि विद्यमान छ । गाउँघरमा बिरामी हुनासाथ पहिलो चरणमा झाँक्रीलाई फुकफाक गराएर मात्र मेडिकल औषधि खुवाउने वा स्वास्थ्य केन्द्र लाने चलन अझै पनि बाँकी रहेको छ । नियमित फुक्ने झाँक्रीले पनि अब एकपटक मात्र फुकेर छिटो अस्पताल लैजान सुझाव दिन थालेका छन् । अस्पताल नहुँदादेखि चलिआएको पुरानो फुकफाकको चलन क्रमशः हटाउँदै लाने प्रयास गरिरहेको सोनाम झाँक्रीले बताए । यो चलन हटाउन लामो समय लाग्छ, आफूले छिटो अस्पताल लान सुझाव दिँदै आइरहेको उनले बताए ।