विदुर, नयाँ आर्थिक वर्ष सुरु भएसँगै आ.व. ०७९/८० का लागि निर्माण सामग्री तथा ज्यालाको दररेट नुवाकोट जिल्ला प्रशासन कार्यालयले सरोकारवाला निकायको समन्वयमा निर्धारण गरेको छ । जिल्ला दररेट निर्धारण समितिले चालू आ.व.का लागि मजदुरको ज्याला गत आ.व.को भन्दा हेरफेर गरेको छ । समितिले मजदुरको ज्याला १० प्रतिशत वृद्धि गरेको छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४८ को उपनियम १ अनुसार प्रत्येक जिल्लामा पूरै जिल्लाभरि वा जिल्लाको कुनै भागमा छिट्टै लागू हुने गरी निर्माण सामग्री ढुवानी, दररेट, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्याला निश्चित गर्ने जिल्ला दररेट निर्धारण समिति रहने प्रावधान छ । जिल्ला दररेट निर्धारण समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला/मजदुरी गर्नेको पारिश्रमिक साउनदेखि लागू हुने गरी बढाएको छ । अब सरकारी काममा खटिने मजदुरको दैनिक ज्याला १० प्रतिशत बढेको छ । गत आ.व. ०७८/७९ मा मजदुरको दैनिक ज्याला पाँच प्रतिशत मात्र बढाइएको थियो । चालू आ.व. ०७९/८० मा निजी तथा गैरसरकारी सङ्घ-संस्थाले समेत काममा लगाउँदा दैनिक ज्याला/मजदुरी गर्नेको पारिश्रमिक बढेअनुसार दिनुपर्नेछ ।
जिल्ला दररेट निर्धारण समितिले निर्धारण गरेअनुसार दक्ष कामदार ब्लास्टरको दैनिक ज्याला गत वर्षको एक हजार दुई सय ६० रहेकोमा बढाएर अहिले एक हजार तीन सय ८५ कार्यान्वयनमा आएको छ । नयाँ दररेटअनुसार रक डिल/हेभी ड्राइभर, वेल्डर/प्लम्बर/विस्फोटक पदार्थ ढुवानी गर्ने ज्यामी, डकर्मी, नकर्मी, सिकर्मी, बज्रकर्मी, चित्रकारी, हेभी सिनियर अपरेटर, कम्प्युटरको दैनिक काम गर्नेको ज्याला एक हजार एक सय ५५ निर्धारण भएको छ । गत आ.व. ०७७/७८ मा उक्त काम गर्नेको दैनिक ज्याला हजार पचास रहेको थियो । नयाँ दररेटअनुसार निर्माण सुपरभाइजर, निर्माण सुपरभाइजर प्राविधिक, लाइट ड्राइभरको पनि ज्याला बढाइएको छ । अर्धदक्ष कामदारको प्रतिदिन आठ सय ८०, ज्यामी भरिया, ज्यामी नाइके, जुनियर अपरेटर, उत्प्रेरक, हेभी हेल्पर, सर्भे हेल्पर, अवाले (इँट्टा बनाउने), क्याम्पर वर्कर, साधारण हेल्पर, ल्याब ब्वाई, नर्सरी नाइकेको दैनिक ज्याला आठ सय ४५ भएको छ ।
नयाँ दररेटअनुसार आ.व. ०७९/८० मा मौसम रेकर्डर, हेरालु, माली, चौकीदार, पियन, पाले, चेनमेन, टेपमेन, स्टाफमेन, हलुका कामदारले पाँच सय ८० दैनिक पाउनेछन् । सडकमा काम गर्ने लेन्थवर्करले पाँच सय ५५, प्याच वर्करले ६ सय ६०, लेन्थ वर्कर सुपरभाइजरले सात सय ३५, मेहत्तर, स्विपर (झाडु लगाउने) सफाइ मजदुरले प्रतिदिन प्रतिव्यक्ति ६ सय २० रुपैयाँ पाउनेछन् । ढुवानी ज्यालामा पनि गत वर्षको भन्दा दररेट वद्धि भएको छ । श्रमिकको ज्याला दररेट निर्धारण गर्दा सरोकारवाला पक्षसँगको परामर्श, नेपाल राष्ट्र बैंकबाट प्रकाशित ज्यालादर सूचकाङ्क तथा उपभोक्ता मूल्य सूचकाङ्क, हालको बजारमूल्य र श्रमिकको उपलब्धतालाई आधार मान्दा श्रमिकको उमेर र दैनिक काम गर्ने अवधिलाई आधार मानी आ.व. ०७९/८० का लागि नुवाकोट जिल्लाभर लागू हुने गरी ज्याला निर्धारण गरिएको जिल्ला दररेट निर्धारण समितिका सदस्यसचिव पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख वीरेन्द्रकु्मार बज्राचार्यले बताए । श्रमिकको उमेर १६ वर्ष पुगेको र दैनिक काम गर्ने अवधि आठ घन्टालाई आधार मानिएको उनले बताए ।




प्रतिक्रिया