विदुर, माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा गत बुधबार सार्वजनिक भएको छ । एसइईको नतिजा नुवाकोटका लागि मध्यम देखिएको छ । नतिजाअनुसार नुवाकोट जिल्लामा एसइईको उच्च जिपिए सामुदायिक विद्यालय (सरकारी विद्यालय)ले कब्जा गरेका छन् ।
कोरोना रोगको जोखिमको कारण लगातार दुई वर्ष वार्षिक परीक्षा नहुँदा विद्यालयले नै आन्तरिक मूल्याङ्कन गरेर राम्रो नतिजा देखाए पनि ०७५ सालमा लिइएको परीक्षाको तुलनामा ०७८ सालको परीक्षाको नतिजामा सुधार गर्न नसकिएको हो । ०७८ सालको परीक्षामा नुवाकोटबाट जिपिए चार ल्याउने विद्यार्थी कोही पनि छैनन् भने ३२ जना विद्यार्थीले ३ दशमलव ६ देखि ४ जिपिएसम्म ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटले जनाएको छ । इकाइको सूचना अधिकारी सम्झना थपलियाका अनुसार कोरोना सुरु हुनुभन्दा अघिको नतिजाको तुलनामा नतिजामा सुधार नभए पनि धेरै निराश हुनुपर्ने अवस्था भने नभएको पाइएको छ । नुवाकोटमा रहेका ६ वटा प्राविधिक शिक्षा अध्यापन गराउनेसहित सामुदायिक र संस्थागत गरेर कुल एक सय ४३ विद्यालयबाट कुल चार हजार तीन सय ७१ जना विद्यार्थीले परीक्षा फाराम भरेका थिए । त्यसमध्ये गएको वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको एसइईको परीक्षामा एक सय ६ जना अनुपस्थित भएको र बाँकी विद्यार्थीको नतिजामा सन्तोषजनक रहेको शिक्षा विकास तथा समन्वय इकाइ, नुवाकोटको परीक्षा शाखा प्रमुखसमेत रहेकी कार्यालयकी सूचना अधिकारी सम्झना थपलियाले बताइन् ।
‘माध्यमिक शिक्षा परीक्षा, कक्षा १० अर्थात् एसइईको नतिजा प्रतिशतको आधारमा भन्दा पनि पछिल्लो ६ वर्षदेखि विषयलाई लेटरग्रेडिङ अर्थात् अक्षराङ्कन पद्धतिको आधारमा प्रकाशित भएसँगै विद्यार्थी फेल नहुने अर्थात् सबै पास हुने गरेका छन् । यद्यपि, माथिल्लो कक्षा अध्ययनका लागि तोकिएको जिपिए र तोकिएको विषयमा तोकिएको ग्रेड ल्याउनुपर्ने प्रावधान बनाइएको छ । ‘माध्यमिक शिक्षा परीक्षाको नतिजामा विद्यार्थीले ल्याएको नतिजालाई प्रतिशत र जिपिएभन्दा पनि के–कति ग्रेड ल्याएको हो सोहीअनुसार नै तुलना गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सोही कारण परीक्षाको नतिजामा विद्यार्थी फेल नहुने भए पनि माथिल्लो कक्षा अध्ययनका लागि भने विद्यार्थीले तोकिएको विषयमा तोकिएको ग्रेड ल्याउनुपर्ने प्रावधान रहेको छ । यो वर्ष नुवाकोटमा सबैभन्दा राम्रो अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थी चारजना रहेकोमा तीनजना पृथ्वी मावि विदुरका र एकजना सुभेनियर बोर्डिङ स्कुल बट्टारका विद्यार्थी रहेका छन् । चारजनाले समान ३ दशमलव ८५ जिपिए ल्याएका छन् । यस्तै, ३ दशमलव ८० जिपिए ल्याउने दुईजना विद्यार्थीमा पृथ्वी मावि विदुर र सेई बोर्डिङ स्कुल भदु्रटारका एक/एकजना विद्यार्थी रहेका छन् । अहिले सार्वजनिक गरिएको परीक्षामा चित्त नबुझेमा पुनर्योगको व्यवस्थासमेत गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
एसइईको हालै सार्वजनिक भएको नतिजामा विद्यार्थी, विद्यालय र अभिभावकले अपेक्षानुसार अङ्क नपाएको कारण पुनर्योगका लागि समेत चासो देखाएका छन् । त्यसका लागि तोकिएको शुल्क तिरेर राष्ट्रिय परीक्षा बोर्डमा अर्थात् जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा निवेदन दिन सक्ने प्रावधान बनाइएको छ । त्यसका लागि यही साउन २७ गतेभित्र निवेदन दिने मिति तोकिएको छ । कोरोना रोगको सङ्क्रमणको कारण लगातार दुई वर्ष विद्यालयले नै दिएको आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा सार्वजनिक गरिएकोमा यो वर्ष परीक्षाको तोकिएका प्रक्रिया पूरा गरेर सञ्चालन भएसँगै विद्यार्थीको नतिजा खस्किएको छ । नतिजा सुधारका लागि अबको विकल्प भनेको ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था यसअघि राष्ट्रिय परीक्षा बोर्डले गरेकाले कमजोर नतिजा आएको विद्यार्थीका लागि त्यसलाई अवसरको रूपमा लिने गरिएको छ । अघिल्ला वर्षमा राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको रूपमा ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने गरेकाले यसपटक पनि परीक्षा लिन सक्ने, तर त्यसका लागि सूचना भने प्रकाशित हुन बाँकी रहेको छ ।
प्रतिक्रिया