कलेज सभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०७९, बिहीबार १२:३४

त्रिशूलीबजार, त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त त्रिशूली बहुमुखी कलेज नुवाकोटको प्रथम कलेज सभा शनिबार सम्पन्न भएको छ ।
कलेजले बनाएको विधानलाई त्रिविले अनुमोदन गरेपछि भएको कलेज सभाले अध्यक्षमा नारायण श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । सभाले विधानअनुसार एक महिलासहित पाँचजनालाई सञ्चालक समितिको सदस्यमा चयन गरेको छ ।

सर्वसम्मत सञ्चालक समितिको सदस्यमा चयन हुनेमा नारायणबहादुर पाण्डे, परवेज आलम, कुमारमान मलेकु श्रेष्ठ, चन्द्रलाल तामाङ, सावित्री बोगटी रहेका छन् । कलेजको विधानअनुसार तीनजना विविध क्षेत्रबाट मनोनीत र अन्य पदेनसहित १९ जनाको सञ्चालक समिति रहेको छ । ०६० सालमा त्रिभुवन त्रिशूली माविको आर्थिक, भौतिक सहयोगमा स्थापना भएको थियो । हालसम्म कलेजको आफ्नो जग्गा र भवन नहुँदा विद्यालयको जग्गा र भवन प्रयोग गर्दै आइरहेको छ । कलेजको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रामदास अमात्य, राजेश श्रेष्ठ, राजेन्द्र महर्जन र शुभलाल श्रेष्ठले पूरा गरिसकेको जानकारी क्याम्पस प्रमुख रिता पछाईले दिइन् । कलेजमा हाल तीन सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।