आफ्नो खुसीमा अरूको खुसी जोड्नु, आफ्नो समृद्धिमा अरूको दुःख सम्झनु र आफू सुरक्षित हुँदा असुरक्षित बनेका मानिसको हात समात्नु नै हाम्रा चाडपर्वको साँचो संस्कार हो । जब छिमेकीको घरमा चुलो बलेको छैन, तब आफ्नै घरको भोजले पूर्ण खुसी दिन सक्दैन ।


दसैँ यो वर्ष पनि आयो । नेपालीको महान् पर्व बडादसैँ केवल चाड होइन, हाम्रो संस्कृति, पहिचान र आत्मीयताको प्रतीक हो । दसैँले टाढिएका परिवारलाई नजिक ल्याउँछ, सम्बन्ध नवीकरण गर्छ र जात, धर्म, भाषा, भूगोल तथा आर्थिक अवस्थाका सीमाभन्दा माथि उठेर आपसी सद्भाव र भाइचाराको सन्देश दिन्छ । निधारको रातो टीका, कानमा सजिएको जमरा, घरआँगनको रौनक र मान्यजनको आशीर्वादसँग जोडिएको दसैँ नेपाली मनको साझा उत्सव हो ।

दसैँ आउँदा परदेसिएका सन्तान घर फर्कने बाटो हेर्छन् । आमाबुवा छोराछोरीको प्रतीक्षामा हुन्छन् । दिदीबहिनी माइती जाने, बालबालिका नयाँ लुगा लगाउने र आफन्त एकै ठाउँमा भेला भएर खुसी साट्ने सपना बुन्छन् । गाउँघरका बाटाघाटा भरिन्छन्, घरका चुलोमा मीठा परिकार पाक्छन् र वर्षौँदेखिका सम्झना फेरि ताजा हुन्छन् । सबैलाई साथ लिएर रमाउनु र अरूको खुसीमा पनि आफ्नो खुसी देख्नु नै चाडपर्वको मूल मर्म हो । तर, यसपालि भदौ १० गतेको भोटेकोशीको भेलले मेरो घरगाउँको खुसीको संसार उजाडेको छ । त्यो भेलले यही खुसीको संसारमा कहिल्यै नमेटिने घाउ बनाइदिएको छ । बाढीले घरबस्ती मात्र बगाएन, कति परिवारका सपना, सम्बन्ध र भविष्यसमेत बगायो । दसैँमा टीका लगाइदिने हात गुमे, आशीर्वाद दिने ओठ सदाका लागि बन्द भए र घर फर्कने प्रतीक्षामा बसेका आँखा सधैँका लागि ओभाउन नसक्ने आँसुमा डुबे । कसैको घर पुरियो, कसैको परिवार बग्यो, कोही बेपत्ता भए । दसैँको तयारीमा जुटेका घरआँगनमा आज शोक र सन्नाटा छाएको छ ।
बाढीले बगाएको पानीसँगै कति सपना बगे, कति घरपरिवार उजाडिए, कति सम्बन्ध सदाका लागि टुटे र कति आमाबुवाका काख रित्तिए । महिना गनेर यस वर्षको दसैँको प्रतीक्षामा रहेका आँखा आज आफ्ना प्रियजनको अन्तिम झलकसमेत नपाई आँसुमा डुबेका छन् । जुन घरमा टीकाको दिन परिवारका सबै सदस्य भेला हुने तयारी थियो, त्यहाँ आज सन्नाटा छ । जुन आँगनमा जमरा राख्ने, नयाँ लुगा लगाउने र हाँसोको गुञ्जन फैलिने आशा थियो, त्यहाँ आज अभाव, पीडा र असह्य रिक्तता छ । दसैँ त हरेक वर्ष आउँछ, तर यसपालि भोटेकोशीले खोसेर लगेका ती प्रिय अनुहार कहिल्यै फर्किएर आउनेछैनन् । बाढीले बगाएका घर फेरि बनाउन सकिएला । भत्किएका सडक र पुल पुनर्निर्माण गर्न सकिएला । पुरिएका बस्तीमा फेरि बस्ती बसाउन सकिएला । खेतबारीमा फेरि अन्न फलाउन सकिएला । तर, बाढीसँगै बगेको बाबुको हात, आमाको माया, दाजुभाइको आत्मीयता, श्रीमान्श्री-मतीको साथ र छोराछोरीको चञ्चल हाँसो कसरी फर्काउने ? प्रकृतिले दिएको यो चोटले मानिसको मनमा पारेको गहिरो ठाउँ कसरी पुर्ने ? यसपालिको दसैँले हामीलाई यस्तै असह्य प्रश्नका अगाडि उभ्याएको छ । हात समातेर मामाघर जाने सानो बालकका लागि अब बाटो हेरिदिने बाबा छैनन् । दसैँमा घर फर्कने छोराछोरीलाई मीठो परिकार बनाएर खुवाउने आमा छैनन् । नयाँ लुगा किनिदिन कर गर्ने नानीबाबु छैनन् । निधारमा टीका लगाएर दीर्घायुको आशीर्वाद दिने हजुरबा-हजुरआमा छैनन् । दाजुभाइको प्रतीक्षामा बसेका दिदीबहिनीका आँखा ओभाएका छैनन् । श्रीमान् फर्किने बाटो हेर्दै बसेकी श्रीमतीको प्रतीक्षा अधुरै छ । श्रीमती र छोराछोरीको अनुहार हेरेर परदेशको थकान बिर्सने सपना बोकेर फर्किएका कसैका लागि घर अब घरजस्तो रहेन ।
यसपटकको यो विनाश केवल भौतिक होइन । यो भावनाको विनाश हो, सम्बन्धको विछोड हो, भविष्यप्रतिको विश्वासमा लागेको चोट हो । जसको घर भत्किएको छ, उसले छानो मात्र गुमाएको छैन, उसले आफ्नो बाल्यकाल, आफ्ना सम्झना, आफ्ना सपना र सुरक्षित महसुस गर्ने संसारको एउटा ठुलो हिस्सा गुमाएको छ । जसले परिवार गुमाएको छ, उसका लागि दसैँ पात्रोमा आएको एउटा चाड मात्रै होइन, आफ्ना प्रियजनको अभाव झन् गहिरो गरी महसुस हुने कालो दिन बनेको छ । कसैको सिउँदो पुछिएको छ, कसैको काख रित्तिएको छ, कसैको सहारा गुमेको छ । कसैले जीवनसाथी गुमाएका छन्, कसैले जन्म दिने आमाबुवा । कसैले आफ्ना सन्तान गुमाएका छन् भने कसैले एउटै भेलमा परिवारका धेरै सदस्य, अझ कतिपयका प्रियजनको अवस्था अझै अज्ञात छ । उहाँहरूका लागि प्रत्येक ढोका खुल्दा मनमा एउटा आशा पलाउँछ-सायद उहाँ फर्किनुभयो कि ? प्रत्येक अपरिचित अनुहार देख्दा मन झस्किन्छ– कतै आफ्नै मान्छे त होइन ? तर, जब आशा फेरि निराशामा बदलिन्छ, त्यो पीडालाई शब्दमा उतार्न सकिँदैन । यस्तो अवस्थामा दसैँको रौनक कसरी मनमा बसोस् ? कसरी खुसीका गीत गुञ्जिऊन् ? कसरी निधारमा टीका लगाएर विजयको उत्सव मनाइयोस्, जब आफ्नै जीवनको संसार पराजित भएझैँ लागिरहेको छ ।
यसपालि दसैँ मनाउन तयार पारिएका नयाँ लुगा दराजमै थन्किनेछन् । किन्ने योजनामा रहेका मिठाई र फलफूलको स्वाद हराउनेछ । घर फर्कने टिकट काटेका कतिपय मानिसका यात्रा अधुरा हुनेछन् । वर्षौँपछि भेट्ने वाचा गरेका आफन्त कहिल्यै नभेटिने गरी छुट्टिएका छन् । दसैँमा गाउँ फर्केर पुराना साथीसँग रमाउने, पिङ खेल्ने, मन्दिरमा पूजा गर्ने र गाउँघर घुम्ने रहर भोटेकोशीको भेलसँगै बगेका छन् । लिङ्गेपिङका लठारा चुँडिएका छन्, रोटेपिङ पुरिएका छन्, पूजा–आजा गर्ने कतिपय मठमन्दिरको अस्तित्व मेटिएको छ । बाटो मात्रै भत्किएको छैन, कतिपयका जीवनका यात्रासमेत बिचैमा रोकिएका छन् । त्यसैले यसपालि हामीले दसैँलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ । चाडपर्वको वास्तविक अर्थ नयाँ लुगा लगाउनु, मीठो खानु, पिङ खेल्नु वा टीका थाप्नु मात्रै होइन । यसको मूल मर्म त आपूm रमाउनु र अरूलाई पनि रमाउन सहयोग गर्नु हो । आफ्नो खुसीमा अरूको खुसी जोड्नु, आफ्नो समृद्धिमा अरूको दुःख सम्झनु र आपूm सुरक्षित हुँदा असुरक्षित बनेका मानिसको हात समात्नु नै हाम्रा चाडपर्वको साँचो संस्कार हो । जब छिमेकीको घरमा चुलो बलेको छैन, तब आफ्नै घरको भोजले पूर्ण खुसी दिन सक्दैन । जब कसैको काख रित्तिएको छ, तब आफ्नै परिवारको जमघटमा रमाउँदा पनि उसको पीडालाई सम्झने समवेदना हामीभित्र जाग्नुपर्छ ।
यसपालि हाम्रो दसैँको टीकामा आँसु र पीडा मिसिनेछ । जमरासँगै शोक र श्रद्धाका भावना पलाउनेछन् । आशीर्वादका शब्दमा विछोडको पीडा हुनेछ । तर, यही पीडाभित्र मानवताको उज्यालो पनि खोज्नुपर्छ । दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेर शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै र विपत्तिमा परेका दाजुभाइ तथा दिदीबहिनीको हात समात्दै हामीले यसपालिको दसैँ मनाउनुपर्छ । कसैको घरमा खानेकुरा पुगेको छैन भने हाम्रो भान्साबाट केही हिस्सा छुट्याऔँ । कसैसँग लगाउने लुगा छैन भने हाम्रो दराजबाट एउटा लुगा निकालौँ । कसैले आफन्त गुमाएर एक्लोपनमा दिन काटिरहेको छ भने उसको घरसम्म पुगौँ, उसको कुरा सुनौँ, उसको आँसु पुछ्न नसके पनि आँसु झार्दा काँध थापिदिऔँ । जसका बालबालिकाले अभिभावक गुमाएका छन्, उहाँहरूलाई दया गरेर मात्र होइन, आफ्नै परिवारका सदस्य सम्झेर माया गरौँ । उहाँहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र भविष्यका लागि जिम्मेवारी बाँडौँ । जसका घर भत्किएका छन्, उनीहरूको पुनस्र्थापनामा हातेमालो गरौँ । समवेदना केवल मुखले व्यक्त गरिने शब्द होइन, दुःखमा परेको मानिससँग सँगै उभिने व्यवहार हो । श्रद्धाञ्जली केवल फूल चढाउनु होइन, दिवंगत व्यक्तिको अभावले छटपटाइरहेका परिवारलाई जीवनमा फेरि उभिन सहयोग गर्नु हो । मानवता भनेको दुःखीलाई उसको पीडा बिर्सन सल्लाह दिनु होइन, पीडा बोकेर बाँच्नुपर्ने लामो यात्रामा उसको साथ नछोड्नु हो ।
यसपालि टीका लगाउँदा आफ्ना ज्येष्ठ सदस्यबाट आशीर्वाद लिऔँ, तर टीका लगाउन कोही बाँकी नरहेका परिवारलाई पनि सम्झौँ । आफ्ना छोराछोरीलाई नयाँ लुगा किनिदिँदा अभिभावकविहीन बालबालिकाको अनुहार सम्झौँ । घरमा मीठो परिकार बनाउँदा चुलो निभेका परिवारको अवस्था सम्झौँ । परिवारसँग बसेर हाँस्दा आफ्ना प्रियजनको सम्झनामा आँसु पुछिरहेका मानिसको पीडा महसुस गरौँ । हाम्रो खुसीमा उहाँहरूको दुःखको उपहास नहोस्; बरु हाम्रो खुसीको केही अंश उहाँहरूको जीवनमा आशा बनेर पुग्न सकोस् । हामीले यो पनि बुझ्नुपर्छ-प्रकृतिको प्रकोपले सबैभन्दा बढी चोट तिनै मानिसलाई पु¥याउँछ, जसको जीवन पहिल्यै कठिनाइसँग जुधिरहेको हुन्छ । त्यसैले राहत र सहयोग केही दिनको औपचारिकतामा सीमित हुनुहुँदैन । तत्कालको उद्धारपछि दीर्घकालीन पुनस्र्थापना, सुरक्षित आवास, जीविकोपार्जन, बालबालिकाको शिक्षा र मानसिक स्वास्थ्यमा समेत ध्यान दिनुपर्छ । पीडित परिवारले आफ्नो खुट्टामा उभिन सक्ने वातावरण बनाउनु हाम्रो सामूहिक दायित्व हो । विपत्तिको पीडालाई सम्झनामा मात्र सीमित नगरी त्यसबाट सिकेर भविष्यमा जोखिम घटाउने प्रयास गर्नु पनि दिवंगतप्रतिको सच्चा सम्मान हुनेछ । आउनुहोस्, यसपालि हामी दसैँको खुसीलाई केही सामान्य बनाऔँ, तर हाम्रो मानवतालाई अझ बलियो बनाऔँ । ठुला भोजभतेरभन्दा सहयोगलाई महत्त्व दिऔँ । देखावटी उत्सवभन्दा दुःखीको आँसु पुछ्नुलाई प्राथमिकता दिऔँ । आफ्ना प्रियजनसँग रमाउँदा अरूले गुमाएका प्रियजनलाई सम्झौँ । शोकसन्तप्त परिवारका घरआँगनमा पुगेर समवेदना बाँडौँ । अभिभावकविहीन बालबालिकाका लागि अभिभावक बनौँ । एक्लिएका वृद्धवृद्धाको सहारा बनौँ । विपत्तिमा परेका परिवारलाई हाम्रो साथ, सहयोग र मायाको अनुभूति गराऔँ ।
यसपालि टीका लगाउँदा निधारमा रातो टीका मात्र होइन, हृदयमा करुणाको टीका पनि लगाऔँ । जमरा राख्दा समृद्धिको कामना मात्र होइन, पीडितको जीवनमा आशा उम्रियोस् भन्ने कामना पनि गरौँ । पूजाआजा गर्दा शक्ति मागौँ, तर त्यो शक्ति दुःखीलाई उठाउने, निराशलाई आशा दिने र विखण्डित मनलाई जोड्ने शक्ति होस् । किनकि चाडपर्वको सार आफू एक्लै रमाउनुमा होइन, सबैलाई साथ लिएर रमाउनुमा छ । हाम्रो खुसी तब मात्र पूर्ण हुन्छ जब त्यसमा अरूको आँसु पुछ्ने समवेदना मिसिएको हुन्छ । यसपालिको दसैँ समवेदना बाँडेर मनाऔँ । दुःखमा परेकालाई अँगालोमा बाँधौँ । गुमेकालाई श्रद्धापूर्वक सम्झौँ । बाँकी रहेका जीवनमा आशाको दियो बालौँ । अर्को दसैँ फेरि रमाइलो गरौँला । अर्को दसैँमा फेरि खुसी बाँडौँला । तर, यसपालि अरूको आँसु पुछ्दै, पीडामा साथ दिँदै र मानवताको धर्म निभाउँदै दसैँ मनाऔँ । किनकि दसैँ हरेक वर्ष आउँछ, तर दुःखमा साथ दिएको हाम्रो हात र बाँडेको समवेदना कसैको जीवनमा जीवनभरको सहारा बन्न सक्छ । दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली ! शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ! हामी सबैले विपत्तिमा परेका सबैप्रति ऐक्यबद्धता र सहयोगको प्रतिबद्धता पनि व्यक्त गरौँ । दसैँको सबैमा शुभकामना ! (प्याकुरेल यस प्रकाशनको नियमित स्तम्भकार एवम् एमालेका बौद्धिक व्यक्तित्व हुनुहुन्छ ।)





प्रतिक्रिया