दसैँ नेपालीका घरआँगनमा आइसकेको छ । देशैभरि चाडपर्व सुरु भए पनि रसुवा, नुवाकोट र धादिङका जनताका लागि यस वर्षको दसैँ शोकमा डुबेको छ । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको महाप्रलयकारी हिमबाढीले नदीतटीय क्षेत्रका बासिन्दाले अकल्पनीय पीडा भोग्नुपरेको कारण दसैँको रौनक हराएको छ ।


भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट विशेषगरी रसुवा, नुवाकोट र धादिङमा ठुलो क्षति भएको छ । बाढीबाट एक हजार चार सय ४५ जनाको मृत्यु, पाँच हजार दुई सय ८५ अझै बेपत्ता र तीन सय ४४ जनाले अस्पतालबाट उपचार गरेर घर फर्केका छन् । बाढीबाट हजारौँ बेपत्ता भएकामध्ये १३ हजार सात सय ९५ को उद्धार गरिएको सरकारी प्रतिवेदन आएको छ । परिवारसँगै अधिकांशले धनसम्पत्ति, घर जग्गा गुमाएका छन् । कतिपयको बस्ने वास नभएपछि सरकार र सङ्घ संस्थाले सञ्चालन गरेको अस्थायी शिविरमा दिन कटाइरहेका छन् । खाने र बस्ने वासको ठेगान नभएका बाढी प्रभावितलाई यस वर्षको दसैँ शोकमा डुबाएको छ । परिवार गुमेका, बाढीमा परेर हराइरहेका प्रभावितका लागि दसैँभन्दा पनि तत्काल खाने, बस्ने, परिवारको भरणपोषण र भविष्यको चिन्ता ठुलो छ । सरकारले बाढी आएको डेढ महिना बितिसक्दा पनि प्रभावितलाई कहाँ राख्ने, के सहयोग गर्ने भन्ने स्पष्ट नीति योजना ल्याउन नसकेको कारण यस क्षेत्रका जनतामा थप पीडा थपिएको छ । अझै क्षतिको यथार्थ विवरण आएको छैन । सरकार प्रारम्भिक तथ्याङ्कमै प्रभावितका लागि अस्थायी बसोबास गराउने योजना बनाइरहेको छ । तीन तहको सरकारबिच समन्वयको अभाव, क्षतिको तथ्याङ्क विवरण फरकफरक आएको छ । सरकारले पुनर्निर्माण र पुनस्र्थापनाको खाका ल्याउन अझै सकेको छैन ।

बाढीबाट यस क्षेत्रमा भएको मानवीयसँगै भौतिक क्षतिको लेखाजोखा गर्न नसक्ने अवस्था छ । बाढीले सडक पुल, सरकारी भवन, विद्यालय, निजी आवास, कृषि तथा उद्योग क्षेत्रमा ठुलो क्षति पुगेको छ । भदौ १० गते आएको बाढीपछि रसुवा, नुवाकोट र धादिङ जिल्लाका आधा क्षेत्र सडक सम्पर्कविच्छेद छ । त्रिशूली नदी वारपार गर्न समस्या भइरहेको छ । त्रिशूलीपारिका स्थानीयलाई सडक सञ्जाल क्षतविक्षत भएपछि दैनिक जीवनयापन चलाउन कष्ट भइरहेको छ । प्रारम्भिक विवरणअनुसार बाढीले दुई हजार तीन सय घर पूर्ण रूपमा क्षति र दुई सय ६९ घरमा आंशिक क्षति पुगेको छ । घरमा क्षति भएको प्रभावितमध्ये केही अस्थायी आश्रयस्थलमा, केही आफन्तकोमा र अधिकांश कोठा भाडा लिएर अप्ठ्यारोका साथ गुजारा गरिरहेका छन् । घर र व्यवसाय बगेकालाई सरकारले राहत र आर्थिक सहयोग वितरणमा भेदभाव गरिरहेको गुनासो पीडितले गरेका छन् । बाढीबाट दुई हजार तीन सय परिवार विस्थापित भएको र एक हजार ८५ जनाले अस्थायी शिविरमा आश्रय लिइरहेको सरकारी तथ्याङ्क छ । विध्वंसकारी बाढीले यस क्षेत्रका १२ विद्यालय पूर्ण र १८ विद्यालय आंशिक रूपमा क्षति भएका छन् । नौ हजार दुई सय ४८ विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । बाढीले ३४ वटा मोटेरेबल पुल भत्किएको एउटा आंशिक क्षति भएको छ । त्रिशूली नदीको रसुवादेखि धादिङसम्म ५१ वटा झोलुङ्गे पुलमा क्षति भएकाले आवतजावतका लागि अझै वैकल्पिक बाटो र अस्थायी संरचनामा निर्भर हुनुपरेको छ ।
देश र विदेशमा रहेका नेपालीको घरघरमा यस वर्षको नवरात्रका लागि आइतबार जमरा राखे पनि रसुवा, नुवाकोट र धादिङका नदीतटीय क्षेत्रका बासिन्दाको घर र बस्ने बाससमेत नरहेकाले जमरा राख्ने, दसैँ मनाउने त कल्पनाभन्दा बाहिर विषय भएको छ । विगतमा दसैँ आउनुभन्दा १५ दिनदेखि नुवाकोटको मुख्य बजार केन्द्र त्रिशूली, ढुङ्गे, देवीघाट, वेत्रावतीमा सामान किनमेल गर्नेको भिड लाग्ने गर्दथ्यो । व्यवसायीलाई पनि सामान बिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो । यस वर्ष बाढीले ती क्षेत्र उजाडिएका छन्, बजार बगरमा परिणत भएका छन्, सामान किन्ने पसल र बेच्ने व्यापारी छैनन् । हिजोको भिडभाड हुने बजारका व्यवसायी विपत्ले दिएको क्षतिको हरहिसाब गर्न व्यस्त छन् । दसैँको किनमेल गर्नेको पनि मन खुसी छैन । अच्चकाली महँगी बढेकाले निर्वाह गर्न र संस्कारलाई निरन्तरता दिनकै लागि सामानको जोहो गरिरहेका छन् । बाढीले घरपरिवार, इष्टमित्र, आफन्त, साथीभाइ गुमाएकालाई यस वर्षको दसैँ आएको–नआएको जानकारी नै छैन । यस वर्ष प्रभावित क्षेत्रमा दसैँ आउनछैन । रसुवाको स्याफ्रुबेँसी, टिमुरे र रसुवागढीमा विगतमा यो समय व्यापारीले दसैँका लागि सामान ल्याएको कन्टेनरको लाम लाग्ने गर्दथ्यो । बाढीले ती क्षेत्र बगरमा परिणत गरिदिएको छ । रसुवागढी नाका पुग्ने सडक र बस्तीको नामोनिसाना देखिँदैन । सरकार बाढी आएको डेढ महिना बितिसक्दा पनि जनधनको क्षतिको विवरण सङ्कलनमै अल्मलिएको छ । नेपाल–चीन सामान आयात–निर्यात हुने सबैभन्दा चल्तीको रसुवागढी नाका बाढीपछि पूरै बन्द छ । यस क्षेत्रमा दसैँको भन्दा दैनिक जीवनयापन र सुरक्षित भविष्यको चिन्तामा नागरिक रहेका छन् । विपत्तिको कारण धनसम्पत्ति र परिवार गुमाएका नागरिक शोकमा डुबिरहेका कारणले यसपटक दुर्गा पक्ष खल्लो बनेको छ, दसैँको उत्साह हराएको छ । परिवार मिलनको पर्व दसैँ परिवार गुमाएकाका लागि अर्थविहीन बनेको छ ।





प्रतिक्रिया