प्रहरी उपरीक्षक शाहको सरुवा

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०७९, बिहीबार १२:४९
Logo of trishuli prawaha

विदुर, नेपाल प्रहरीको नुवाकोटसहित चार जिल्लाका प्रहरी प्रमुखको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले गरेको निर्णयअनुसार नुवाकोटसहित उदयपुर, सुनसरी र इलाम जिल्लाको प्रहरी प्रमुखको फेरबदल भएको छ ।

प्रहरी उपरीक्षकको काज सरुवाअनुसार नुवाकोटमा हाल कार्यरत रामप्रकाश शाहलाई सरुवा गर्दै उनको सट्टामा रमेश पण्डितलाई पठाइएको छ । नुवाकोट आउन लागेका पण्डित गत वर्ष ०७८ मङ्सिर २ गते प्रहरी नायव उपरीक्षकबाट बढुवा भएर प्रहरी उपरीक्षक भएका थिए । तनहुँको व्यास नगरपालिका-५ नेपालटार घर भएका उनी प्रहरी निरीक्षक रहँदा भोटेओढार–लमजुङ, रत्नपुर स्याङ्जा, लुम्बिनी र चितवनको खैरेनीलगायतमा बसेका थिए । प्रहरी उपरीक्षक पण्डितको दाङ जिल्लाबाट नुवाकोट सरुवा भएको हो । उनी सोमबार जिल्ला आउने जानकारी कार्यालयले दिएको छ । नुवाकोटमा कार्यरत प्रहरी उपरीक्षक शाहको प्रहरी प्रधान कार्यालयमा काज सरुवा भएको छ । उनले बुधबार रमना लिएका छन् ।